नेपालको आधुनिक राजनीतिक इतिहास केवल घटनाहरूको फेहरिस्त होइन, यो रगतको मसीले लेखिएको एउटा वियोगान्त महाकाव्य हो । जब हामी वि.सं. १९९७ सालतिर फर्केर हेर्छौं, राणा शासनको कठोर अन्धकार चिर्न चार जना वीर सपुतहरूले आफैँलाई होइन, देशलाई रोजे ।
विरोधको जवाफ संवाद होइन, फाँसी र गोली थियो । यसरी नेपालको राजनीतिक इतिहासमा राज्य र जनताबीचको द्वन्द्व स्थापित भयो । दुःखद पक्ष के रह्यो भने, त्यहीँदेखि एउटा परम्पराको जग बस्यो, जहाँ ‘परिवर्तन’ र ‘रगत’ पर्यायवाची मानिन थालियो । रगतले कसको कुर्सी सुरक्षित गर्छ भन्ने प्रश्न सधैँ ओझेलमा रह्यो ।
हामीले बहुदल पाए पनि त्यसँगै एउटा खतरनाक सन्देश संस्थागत भयो कि परिवर्तनका लागि रगत बग्नु सामान्य कुरा हो । नेताहरूले मञ्चबाट घोषणा गरे, ‘शहीदको सपना पूरा भयो’ तर वास्तविकतामा शहीद परिवारका सपनाहरू तिनै नेताका चिल्ला गाडी र महलका जगमुनि पुरिए । २०४६ सालपछि ‘शहीद’ शब्दको अवमूल्यन सुरु भयो । रगतलाई सत्तामा पुग्ने ‘सर्टकट’ बाटोका रूपमा हेर्न थालियो ।
यसरी हजारौँ मानिसको रगतले २४० वर्षभन्दा धेरै शासन गरेको राजतन्त्र ढल्यो । गणतन्त्र आयो । तर शहीदले परिकल्पना गरेको नेपाल यही थियो ?
२०४६ को उपलब्धिले आम जनताको जीवनमा खासै परिवर्तन आएन भनेर माओवादी सशस्त्र द्वन्द्व देखा पर्यो । वि.सं. २०५२ फागुन १ गते सुरु भएको यो युद्ध २०६३ मंसिर ५ गतेको शान्ति सम्झौतासम्म पुग्दा नेपाली समाजका लागि सबैभन्दा रक्तरञ्जित अध्याय बन्यो ।
आधिकारिक तथ्यांक अनुसार १७ हजारभन्दा बढी मानिस मारिए । करिब १३ सय बेपत्ता भए । लाखौँ विस्थापित बने । युद्धमा राज्य र विद्रोही दुवै पक्षले ‘मुक्ति’ र ‘न्याय’ का नारा दिए, तर सबैभन्दा ठूलो मूल्य सर्वसाधारण नागरिकले तिरे । २०६२/०६३ को आन्दोलनमा २५ जनाभन्दा बढीले बलिदान दिए ।
यसरी हजारौँ मानिसको रगतले २४० वर्षभन्दा धेरै शासन गरेको राजतन्त्र ढल्यो । गणतन्त्र आयो । तर शहीदले परिकल्पना गरेको नेपाल यही थियो ? युद्ध सकियो, राजनीति मूलधारमा आयो, संविधान बन्यो । तर पीडितका घाउहरू राज्यको प्राथमिकतामा परेनन् । रगतको मूल्य सत्ता र सम्झौताको बन्द कोठामा विलीन भयो ।
द्वन्द्वपछिको कालखण्डमा मधेश आन्दोलन सुरु भयो । यो ऐतिहासिक रूपमा उपेक्षित समुदायको आवाज थियो । २०६३ देखि २०६५ का बीचमा ३० भन्दा बढी मानिस मारिए । अधिकांश मृत्यु सुरक्षाकर्मीको गोलीबाट भयो । संविधानमा केही माग समेटिए, तर यहाँ पनि संवादभन्दा रगतले आफ्नो भावी बाटो कोरेको देखियो ।
२०६३ चैत ७ गते रौतहटको गौरमा भएको घटना नेपाली राजनीतिको गहिरो कलंक हो । २७ जनाको निर्मम हत्या भयो । शवहरू खुला ठाउँमा फ्याँकिए । राजनीति जनतालाई अमानवीय बनाउने उपकरण बनेको देखियो । यति ठूलो नरसंहारको न्यायिक निष्कर्ष आजसम्म निस्किएको छैन । आरोपितहरू अझै राजनीतिक मैदानमा सक्रिय छन् ।
त्यस्तै, २०७२ को टीकापुर घटनाले अर्को गहिरो घाउ बनायो । थरुहट आन्दोलनमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गयो । देशभर ध्रुवीकरण बढ्यो । विडम्बना, हिजो दोषी ठहरिएका व्यक्तिहरू आज फेरि राजनीतिक दल बदल्दै सत्ताको केन्द्रमा छन् । जब दण्डहीनता राजनीतिमा संस्थागत हुन्छ, तब रगतको होली खेल्न कसैलाई डर लाग्दैन । हिजो राजनीति र अपराधको परिभाषा खोज्नेहरू आफ्नो स्वार्थ मिलेपछि अपराधलाई राजनीति बताइदिए ।
संविधान बनेपछि देशले राजनीतिक प्रणाली पायो । नागरिक अपेक्षा थियो, राजनीतिक दलहरू अब विकासमा केन्द्रित हुनेछन् । तर राजनीतिक दलहरूले यथार्थभन्दा भावनात्मक कुरा बढी गरे । एक अर्कामा आरोप–प्रत्यारोप सुरु गरे । सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा बोली फेरियो । यति हुँदा पनि विश्व बैंक र युएनडीपीका तथ्यांक अनुसार विगत ३० वर्षमा नेपालले ठूला उपलब्धि हासिल गरेको छ ।
यो उपलब्धि २०४८ साल देखि नै सुरु भए पनि मुख्यत २०७२ देखि २०८२ सम्म भएका थिए । सडक सञ्जाल १४ हजार किलोमिटरबाट १ लाख किलोमिटर पुगेको छ । यो नेपालको कनेक्टिभिटीमा आएको क्रान्ति हो । यसले ग्रामीण अर्थतन्त्रलाई बजारसँग जोडेको छ । विद्यालयको संख्या र साक्षरता दर बढेको छ । पालिका–पालिकामा स्वास्थ्य चौकी र अस्पताल खुलेका छन् । स्वास्थ्यमा सुधार आएको छ ।
खानेपानी सुविधा १० प्रतिशत जनताले मात्रै पाएका थिए, अहिले झण्डै नब्बे प्रतिशत नागरिकलाई खानेपानी पुगेको छ । अन्धकार भएको देशमा झण्डै ९५ प्रतिशत बिजुली पुगेको छ । एचडीआई (HDI) मान ०.४६० बाट ०.६२० पुगेको छ । न्यून मानव विकासको ट्यागलाई पछि छोड्दै मध्यम मानव विकासको श्रेणीमा नेपाल प्रवेश गरेको छ । गरिबी ४२ प्रतिशतबाट १७ प्रतिशतमा झरेको छ ।
तर कृषिमा संलग्न जनसंख्या ६५ प्रतिशतबाट घटेर २७ प्रतिशतमा आएको छ । कृषि क्षेत्रबाट पलायन हुने जनशक्तिलाई व्यवस्थापन गर्नु अबको मुख्य चुनौती देखिन्छ । विगत ३० वर्षमा केही भएन भन्नु तथ्याङ्कगत रूपमा गलत हो । राजनीतिमा केही खराब व्यक्तिहरू हुन सक्छन् । अस्थिरता चाहनेहरूले भएका विकासलाई नजरअन्दाज गरी नकारात्मक सन्देश फैलाएका हुन सक्छन् ।
एक माओवादी नेताले भनेका थिए ‘युद्धमा युवालाई मर्न तयार पारेका हौँ । घर छोडेर आएका युवाले विज्ञान बुझ्दैनन्, उनीहरूलाई भावनामा विकास गरिएन भने मर्न तयार हुँदैनन् ।’
तर, पछिल्लो भदौको घटनाले वास्तविकतालाई अर्कै कोणबाट बयान गरिरहेको छ । ती दिनहरूमा जसले सडक तताए, जसले विद्रोहको नाममा उत्तेजना फैलाए, जसले ज्यान जाने अवस्था सिर्जना हुने गरी भिड उकासे ती स्वयं भने पर्दाभित्र सुरक्षित बसे । अगाडि उभ्याइए तिनै निमुखा युवा, जो भावनामा बगे, जो नारामा हराए, जो राजनीति बुझ्नभन्दा पहिले भिडमा धकेलिए उनीहरू त्यसको शिकार भए ।
एक माओवादी नेताले भनेका थिए ‘युद्धमा युवालाई मर्न तयार पारेका हौँ । घर छोडेर आएका युवाले विज्ञान बुझ्दैनन्, उनीहरूलाई भावनामा विकास गरिएन भने मर्न तयार हुँदैनन् ।’ यही मनोविज्ञान भाद्रको विद्रोहमा पनि प्रयोग भएको देखिन्छ । विद्यालयका अबोध बच्चाहरूलाई भावनामा उक्साएर राजनीतिक हतियार बनाइयो । योजना बन्द कोठामा बन्छन्, तर मृत्यु सडकका निमुखा युवाले भोग्छन् ।
ढुंगा हान्ने, प्रहरीसँग जुध्ने र अन्त्यमा गोलीको सामना गर्ने आम युवाहरू थिए । तर निर्णय लिने र लाभ उठाउनेहरू सुरक्षित दूरीमा रहेकाहरू देखिए । १९ जनाको ज्यानको बदला भन्दै थप ५७ जनाको ज्यान गयो । यो कसले किन गर्यो ? यसका बारेमा धेरै खोजी भएको पाइँदैन । यो विद्रोहको पछाडि कसको के उद्देश्य थियो छानबिन आयोग र भविष्यले बताउँदै जाला ।
अहिले फागुन २१ को चुनाव नजिकिँदै गर्दा, केही राजनीतिक दलहरूले भदौका ती घटनालाई आफ्नो चुनावी एजेन्डा बनाएको पाइन्छ । जसले युवालाई सडकमा पठाए, उनीहरू नै आज ‘पीडितको आवाज’ भनी नारा लगाइरहेका छन् । यो कस्तो विडम्बना हो ? दलहरूले ती मृतकका तस्बिरहरू पोस्टरमा टाँसेर भोट मागिरहेका छन् ।
अबका दिनमा रगतको व्यापार गर्नेहरूलाई चिन्नैपर्छ । ‘रगत बगाउन सिकाउने नेता होइन, पसिना बगाएर देश बनाउन सिकाउने नेतृत्व’ आजको आवश्यकता हो ।
उनीहरूलाई ती युवाको मृत्युको शोक होइन, बरु त्यो मृत्युले दिलाउने सहानुभूति भोटको लोभ छ । उनीहरूले रगतलाई राजनीतिक लाभका लागि सौदाबाजीको विषय बनाएका छन् । चुनावको मुखमा रगतको कुरा गरेर जनताको ध्यान विकास र सुशासनबाट मोड्ने प्रयास भइरहेको छ । रगतलाई राजनीतिको ‘इन्धन’ बनाउने यो खेल अब रोकिनुपर्छ ।
नेपाली राजनीतिमा एक गलत भाष्य स्थापित भयो— बलिदानबिना केही हुँदैन । तर बलिदान सधैँ गरिबकै छोराले किन दिनुपर्छ ? नेताका छोराछोरी सुरक्षित बस्छन्, जनताका छोराछोरी अधिकारका लागि मर्छन् । नेपाली युवाहरू अब ‘ढाल’ बन्नु हुँदैन; ‘विवेकी’ बन्नुपर्छ । ढुंगा र गोलीको राजनीतिले देश बनेको भए नेपाल आज संसारकै समृद्ध हुन्थ्यो । तर यहाँ केवल चिहानहरू थपिए, मान्छेको जीवनको मूल्य थपिएन ।
अबका दिनमा रगतको व्यापार गर्नेहरूलाई चिन्नैपर्छ । ‘रगत बगाउन सिकाउने नेता होइन, पसिना बगाएर देश बनाउन सिकाउने नेतृत्व’ आजको आवश्यकता हो । भाषणको उत्तेजनामा आएर सडकमा ज्यान फाल्नुअघि सोच्नुपर्छ— के यो बलिदानले मेरो परिवार र देशको भविष्य बदल्छ कि केवल कसैको कुर्सी सुरक्षित गर्छ ?
अब समय आएको छ, रगत बगाएर सत्ता चढ्ने राजनीति टिक्नु हुँदैन । इतिहास रगतले लेखिन सक्छ, तर देशको भविष्य योजना, दृष्टिकोण, चेतना, विकास र शान्तिले मात्र बनाउँछ । भगवद् गीतामा भनिएको छ– सत्य खोज्ने भीडभन्दा माथि उठ्नुपर्छ ।
चाणक्य नीतिमा भनिएको छ, ‘सत्य लोकप्रिय हुन्छ भन्ने छैन, तर लोकप्रियताका लागि सत्य त्याग्नु हुँदैन ।’ विज्ञान भन्छ, ‘लोकप्रियताले होइन, प्रमाण र परीक्षणले सत्य तय हुन्छ । तसर्थ सत्य खोज्न भीडको पछि नलाग्नु, विवेक, साहस र यथार्थको बाटो रोज्नु नै उत्तम हुन्छ । शहीदको नाम बेचेर गरिएको राजनीतिले कहिल्यै न्यायपूर्ण समाज निर्माण गर्न सक्दैन । अबको नेपाल ‘शहीद थप्दै जाने देश’ होइन, ‘सुखी र समृद्ध नागरिकको देश’ बन्नुपर्छ


