मधेस आन्दोलनबाट उदाएका दलहरू भने यतिबेला ओझेलमा परेका छन् । पहिलो संविधानसभा निर्वाचन, २०६४ मा उपेन्द्र यादव मोरङ र सुनसरी गरी दुई ठाउँबाट निर्वाचित भएका थिए । उनको पार्टी मधेसी जनअधिकार फोरम मधेसको पहिलो शक्ति र समग्रमा चौथो बनेको थियो, ऊ झन्डै नेकपा एमालेजत्रै थियो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा त मधेसलाई केन्द्र बनाएर राजनीति गरिरहेका दल तथा तिनका नेताहरूको चुनावी हालत बिजोग नै भयो । अधिकांश चर्चित नेताहरू पराजित भए ।
२०७४ सालको निर्वाचनअघि भने मधेसवादी दलका नेताहरूले संविधान संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका थिए । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने घोषणा गरे पनि उनीहरू पछि गले ।
उपेन्द्रले सप्तरी–२ बाट चुनाव जिते भने राजेन्द्रले धनुषा–३ बाट । दुई पटक लगातार चुनाव हारेका महन्थ ठाकुर पनि २०७४ को चुनावमा महोत्तरीबाट प्रतिनिधिसभाका लागि चुनिए ।

मधेसकेन्द्रित दलका हरेक शीर्षस्थ प्रायः नेताहरूले २०७४ को निर्वाचनमा सुखद परिणाम निकाल्न सके । सर्लाही छाडेर धनुषाबाट चुनाव जितेका राजेन्द्र महतोको त्यो बेला निकै चर्चा थियो, उनले कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।
२०७९ को निर्वाचनमा भने मधेसमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि भाग लिएको थियो । सप्तरी–२ मा राउत र उपेन्द्र यादव भिडेका थिए, उपेन्द्रको हारले उक्त समयमा निकै चर्चा पाएको थियो ।
तर उपेन्द्रले बारा–२ बाट चुनाव जितेका आफ्ना पार्टीका नेता रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचन गराए र चुनाव जिते ।
सर्लाही–२ मा भने राजेन्द्र र तत्कालीन माओवादी केन्द्रका महेन्द्र राय यादवबिच प्रतिस्पर्धा भएको थियो, राजेन्द्रले उक्त चुनाव हारे । उनीहरू फागुन २१ गते हुने निर्वाचनमा पनि यहीँबाट भिड्दै छन्, तर उनीहरूको कुनै चर्चा छैन ।
राजेन्द्रको मात्र होइन, सप्तरी–२ बा उम्मेदवार बनेका जनमतका अध्यक्ष राउत र सप्तरी–३ बाट उठेका उपेन्द्रको पनि खासै चर्चा छैन ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा यसपटक नेपाली कांग्रेसबाट रौतहट–१ का उम्मेदवार हुन्, उनी पनि छायामै परेका छन् ।
मधेसवादी दल र नेताहरूको किन छैन चर्चा ?
मधेसवादी दलहरूले आफूलाई रुपान्तरण नगरेकै कारण यो अवस्था आएको बताउँछन् जनकपुरका प्राध्यापक एवं राजनीतिक विश्लेषक भोगेन्द्र झा । ‘रास्वपा नयाँ नै भयो, त्यत्रो पुरानो पार्टी कांग्रेस रुपान्तरण भएर आयो तर मधेसवादी दलले आफूलाई कुनै रुपान्तरण गर्न सकेन,’ झा भन्छन्, ‘त्यसैले ओझेलमा परे ।’
मधेसवादी दलहरू पुरानै मुद्दा, पुरानै सोच र पुरानै व्यक्ति बोकेर चुनावमा होमिएका उनको बुझाइ छ । ‘२०६४–६५ मा उठाएका मुद्दा पनि जस्ताको त्यस्तै छ, अहिले पनि उठाइरहेका छन्,’ झा बताउँछन्, ‘मुद्दा उठाउने शैली पनि पुरानै छ, त्यही भएर ती दलहरू ओझेलमा छन् ।’
_5r6TWH0Cpv.jpg)
जनताले परिवर्तन चाहेका तर मधेसकेन्द्रित दलहरूमा कुनै परिवर्तन नदेखिएको उनको भनाइ छ । यद्यपि रास्वपा र कांग्रेसलाई टक्कर दिने क्षमता भने मधेसकेन्द्रित दलमा मात्रै भएको उनले देखेका छन् । ‘जेनजी आन्दोलनपछि मधेसवादी दलहरूले आफूमा अलिकति मात्र परिवर्तन गरेको भए मधेसमा रास्वपा तथा कांग्रेसको यो खालको चर्चा हुने थिएन,’ उनी बताउँछन् ।
यस्तै मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष एवं समाजिक अनुसन्धानकर्ता सोहन साह पनि मधेसवादी दलमा कुनै परिवर्तन नआएको देख्छन् । ओझेलमा पर्नुको कारण पनि यही भएको उनको भनाइ छ । ‘२०६२–०६३ मा जुन अनुहार मधेस राजनीतिमा आए, त्यही अहिलेसम्म छ,’ साह भन्छन्, ‘यतिका दिन भइसक्दा पार्टीमा नेतृत्व विकास भएन, नेता बनाएनन्, त्यसले दलहरूप्रति आकर्षण कम भएको हो ।’
विगतमा गरेका गल्तीप्रति मधेसवादी दलहरूले कुनै सुधार नगरेका कारण यस्तो भएको उनी बताउँछन् । ‘कांग्रेस परिवर्तन भएर आएपछि ऊप्रति आकर्षण बढेको छ, तर मधेसवादी दल यथास्थितिमै रह्यो,’ उनी थप्छन् ।
जसपा नेपालका संरक्षक रहेका महन्थ ठाकुरले आफू राष्ट्रिय सभा सदस्य भएपछि छोरीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका छन् । ‘मधेसमा यो कुरा धेरैलाई मन परेको छैन, आफू नगएपछि कुनै नयाँ व्यक्तिलाई दिनुपर्थ्यो, तर त्यसमा चुकेका कारण धेरैको चित्त दुखेको छ,’ साह अगाडि भन्छन् । मधेसवादी दलहरूले मुद्दामा पनि नयाँपन दिन नसकेको बताए ।रातोपाटी


