काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा देशभर उम्मेदवारहरूको दौडधुप चलिरहेको छ, तर अघिल्ला चुनावको तुलनामा यो पटक दृश्य फेरिएको छ । मञ्चमा उभिएर एकोहोरो भाषण गर्ने र आश्वासनका पुल बाँडेर फर्कने राजनीतिक संस्कारले अहिले काम नगर्ने देखिएको छ ।
निर्वाचनका लागि घरदैलोमा पुगेका ठुला दलका शीर्ष नेतादेखि ‘सेलिब्रेटी’ उम्मेदवारसम्मले यसपटक मतदाताको तिखो प्रश्न सामना गर्नु परिरहेको छ । यसअघि केवल ‘स्रोता’मात्र बन्ने गरेका मतदाता यसपटक ‘प्रश्नकर्ता’ बनेर उभिएका छन्, जसले गर्दा उम्मेदवारहरू चुनावी एजेन्डासँगै स्पष्टीकरण दिन बाध्य देखिन्छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका लागि झापा–५ सधैँ सुरक्षित निर्वाचन क्षेत्र मानिन्थ्यो, तर यस पटक उनले घरदैलोमा अनपेक्षित प्रश्नहरूको सामना गर्नुपरेको छ । एक त उनको प्रतिस्पर्धामा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका बालेन (बालेन्द्र) शाह आएका छन् । त्यसमाथि मतदाताले गर्ने तिखा प्रश्नले ओलीलाई असहज अवस्थामा पुर्याएको छ ।

२०६४ सालपछि केपी ओलीले यसरी चुनौती फेस गर्नु परेको थिएन । उनी अहिले ‘डिफेन्सिभ’ रूपमा जबाफ दिइरहेका छन् भने मतदाता फकाउने प्रयासमा पनि छन् ।
मोरङ–३ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा सजिलै चुनाव जित्ने नेतामध्ये एक हुन् । मेडिकल कलेज सञ्चालन गरेका शर्माले उक्त क्षेत्रका मतदातालाई व्यक्तिगत रूपमा धेरै सहयोग गर्दै आएको भन्दै यसअघि सजिलै चुनाव जितेका थिए । यो पटक उनीमाथि पनि स्थानीयले प्रश्न गरेका छन् । ‘तपाईंले व्यक्तिगत खर्च गरेर उपचार गराउने कि राज्यलाई बलियो बनाउने ? हाम्रो स्वास्थ्यसँग तपाईंले भोट साट्न मिल्छ त ?’ एक युवाले उनको चुनावी अभियानमा प्रश्न सोधेका थिए ।

शर्माकै प्रतिस्पर्धीको रूपमा आएका रास्वपाका गणेश कार्कीलाई पनि स्थानीय युवाले ‘तपाईंलाई किन मत दिने ? के हो आधार ?’ भन्दै प्रश्न गरेका थिए ।
काठमाडौँको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा ओलीविरुद्ध उत्रिएका बालेनका लागि यो निर्वाचन ‘अग्निपरीक्षा’ बनेको छ । काठमाडौँमा उनले गरेको कामको चर्चा भए पनि झापामा भने प्रश्न पनि उत्तिकै छ ।

स्थानीयसँगको छलफलमा बालेनलाई स्थानीयले सुकुमबासी बस्तीमा डोजर चलाउने हल्लाबारे प्रश्न गरेका थिए ।
स्थानीयको कुरा सुनेपछि बालेनले सुकुमबासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने बताएका थिए । बालेनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुमबासीलाई अन्याय हुन नदिने बताए ।
उनले आगामी दिनमा भूमि आयोगलाई निष्पक्ष बनाएर वास्तविक पीडितले मात्र पुर्जा पाउने व्यवस्था मिलाइने आश्वासन समेत दिए ।
बालेनलाई स्थानीयले ‘तपाईंको घोषणा पत्र के हो ? किन मत दिने ?’ भन्ने प्रश्न गरेका थिए । जबाफमा बालेनले फागुनको पहिलो साता आफ्नो पार्टी रास्वपा, प्रधानमन्त्रीको रूपमा र झापा–५ को क्षेत्रगत विषयलाई समेत समेटेर घोषणा पत्र ल्याउने बताएका थिए ।
पत्रकारिता छोडेर चुनावी मैदानमा होमिएका ऋषि धमलालाई रौतहट–४ का मतदाताले निकै अप्ठ्यारोमा पारेका छन् । धमलाले अरुलाई प्रश्न सोध्ने शैलीमै अहिले जनताले उनलाई प्रश्न सोधिरहेका छन् । ‘तपाईंले दशकौँसम्म शक्ति केन्द्रको नजिक बसेर भुइँमान्छेका लागि के गर्नुभयो ?’ स्थानीय मतदाताले उनलाई सोधेका छन् । कतिपय गाउँमा त उनलाई ‘क्यामेरा विनाको धमलाको के अर्थ ?’ भन्दै युवाहरूले जबाफविहीन बनाएका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

रास्वपाकै उम्मेदवार तोसिमा कार्कीलाई यस पटक ललितपुर–३ का मतदाताले अलि फरक नजरले हेरिरहेका छन् । ‘अघिल्लो पटक चुनाव जितेपछि किन नआएको ? विकासको काममा किन बेवास्ता गरेको ?’ जस्ता प्रश्नहरू उनले झेलिरहनु परेको छ । पहिले ‘परिवर्तनका लागि’ भोट मागेकी उनलाई अहिले ‘गरेको काम देखाएर’ भोट माग्न कठिन भइरहेको छ ।
बौद्धिक नेता मानिए पनि चन्द्र भण्डारीलाई गुल्मीमा पुराना दलको विकल्प खोजिरहेका युवाहरूको ठुलो दबाब छ । उनलाई विशेषगरी चुनाव जितेर गएपछि गाउँमा किन नफर्केको ? कांग्रेसको आन्तरिक लोकतन्त्रमा समेत प्रत्यक्ष रूपमा हस्तक्षेप किन नगरेको भन्दै उनलाई स्थानीयले प्रश्न गरिरहेका छन् । संघीयता र भ्रष्टाचार नियन्त्रणमा कांग्रेसको फितलो भूमिकाबारे उनले जनतालाई स्पष्टीकरण दिनु परिरहेको छ ।

मकवानपुरमा पटक–पटक पराजित भएकी कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई यस पटक मतदाताले ‘फेरि किन तपाईं नै ?’ भनेर कडा प्रश्न गरिरहेका छन् ।
एमाले नेतृ ज्वाला कुमारी साहले गृहजिल्ला बारामा चुनावी अभियानभन्दा धेरै स्पष्टीकरण दिन परिरहेको छ । मन्त्री हुँदा जिल्लामा ठोस प्रभाव नपारेको आरोपमा स्थानीयले उनलाई प्रश्नको घेरामा राखेका छन् ।
केपी शर्मा ओलीको बचाउ गरेको, जेनजी आन्दोलनलाई बदनाम गरेको भन्दै साहलाई स्थानीयले प्रश्न लगातार गरिरहेका छन् । पछिल्लो समय एमाले अध्यक्ष ओलीले मधेसको विषयमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै बाराका स्थानीयले उनलाई नै प्रश्न गरिरहेका छन् ।
यी त केही उदाहरणमात्रै हुन्, अहिले अधिकांश उम्मेदवारले स्थानीयको गुनासो र प्रश्नको सामना गर्नुपरिरहेको छ ।
नयाँलाई भिजनको प्रश्न, पुरानालाई गुनासो
विशेषगरी एमाले, कांग्रेस र नेकपा र मधेसवादी दललाई निर्वाचन जितेर गएपछि बेवास्ता गरेको, निर्वाचन क्षेत्रको विकासमा कुनै ध्यान नदिएको जस्ता गुनासो मतदाताले गर्ने गरेका छन् । तिनै दलका नयाँ उम्मेदवारहरूले पनि आफ्ना पार्टीका अघिल्लो उम्मेदवारहरूको अपसज भोग्नुपरेको देखिन्छ ।
यो पटक चुनावमा गएका राजनीतिक दल र उम्मेदवारहरूलाई विशेषगरी दुई खालको प्रश्न आएको देखिन्छ । पुराना राजनीतिक दलबाट उठेका उम्मेदवार र पुरानै उम्मेदवारलाई धेरैले गुनासो गरेका छन् भने नयाँ भनिएका राजनीतिक दल र पहिलो पटक उम्मेदवार भएकाहरूलाई भिजन र एजेन्डाबारे प्रश्न गरिरहेका छन् ।
विशेषगरी एमाले, कांग्रेस र नेकपा र मधेसवादी दललाई निर्वाचन जितेर गएपछि बेवास्ता गरेको, निर्वाचन क्षेत्रको विकासमा कुनै ध्यान नदिएको जस्ता गुनासो मतदाताले गर्ने गरेका छन् । तिनै दलका नयाँ उम्मेदवारहरूले पनि आफ्ना पार्टीका अघिल्लो उम्मेदवारहरूको अपसज भोग्नुपरेको देखिन्छ ।
यस्तै दोस्रो पटक प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएको रास्वपासहित नयाँ दलका उम्मेदवाहरूलाई स्थानीयले ‘चुनाव जितेर गएपछि के गर्नुहुन्छ ?’ भन्दै प्रश्न सोधिरहेका छन् । स्थानीयहरूले राष्ट्रिय मुद्दादेखि निर्वाचन क्षेत्रको विकासे मुद्दासम्म प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूलाई प्रश्न सोध्ने गरेका छन् ।
निर्वाचनको बदलिँदो रङ : प्रश्न गर्ने मतदाता र ‘धुपको धुवाँ’ जस्तो जनमत
समाजशास्त्री सुरेश ढकाल यस पटकको निर्वाचनमा मतदाताहरूको व्यवहार र चुनावी संस्कृतिमा एउटा निकै ठुलो र आधारभूत बदलाव महसुस भइरहेको बताउँछन् ।
पहिला–पहिला चुनावी सभाहरू एउटा ‘मोनोलग’ जस्ता हुने गरेको उनको भनाइ छ । ‘पहिलाका निर्वाचनमा नेता आउने, भाषण गर्ने, अरूलाई गाली गर्ने र मतदाताले ताली बजाएर समर्थन वा विरोध जनाउने हुन्थ्यो, तर अहिले त्यो शैली पूर्णतः भत्किएको छ,’ उनले भने, ‘मतदाताहरूले उम्मेदवारहरूलाई केवल नमस्कार गरेर स्वागतमात्र गरिरहेका छैनन्, बरु उनीहरूलाई र्याखर्याख्ती पार्दै प्रश्न सोध्न थालेका छन् ।’
यस पटक निर्वाचन क्षेत्रहरू भौगोलिक रूपमा ‘आइसोलेटेड’ वा अलग नरहेको प्रस्ट पार्दै ढकालले एउटा सानो क्षेत्र पनि अहिले सिङ्गो देशकै राजनीतिको जीवन्त हिस्सा बनेको बताए ।
निर्वाचनको प्रचार शैलीमा पनि व्यापक फेरबदल आएको छ । प्रविधिको विकासले ठुला आमसभाहरूलाई विस्थापित गर्दै नेताहरूलाई जनताको घर–दैलो र गल्ली–गल्लीमा पुग्न बाध्य पारेको छ ।
‘मतदाताहरूले अब केवल आफ्नो गाउँको कुलो र सडकको मात्र कुरा गरिरहेका छैनन्, बरु उनीहरूले संसदमा उम्मेदवारको भूमिका, पार्टीको राष्ट्रिय अडान र राज्यका कतिपय विवादास्पद निर्णयहरूबारे पनि जबाफ मागिरहेका छन्,’ उनले भने, ‘यो परिवर्तनले नेपाली लोकतन्त्रमा नागरिकको सक्रियतालाई नयाँ उचाइमा पुर्याएको मैले देखेको छु ।’
यो सामाजिक परिवर्तनको पछाडि पछिल्लो समयको ‘जेनजी’ विद्रोहले ठुलो काम गरेको ढकालको बुझाइ छ । ‘यो एउटा यस्तो लहर हो, जसले आम मानिसलाई प्रश्न गर्ने एउटा नयाँ खालको नैतिक बल दिएको छ,’ उनले भने, ‘युवालाई मैले प्रश्नको प्रतिनिधित्वका रूपमा बुझेको छु । अहिले मतदाताहरू आफ्ना उम्मेदवारसँग संसदमा गएर के गर्ने भन्ने स्पष्ट मार्गचित्र खोजिरहेका छन् ।’
अर्कोतर्फ निर्वाचनको प्रचार शैलीमा पनि व्यापक फेरबदल आएको छ । प्रविधिको विकासले ठुला आमसभाहरूलाई विस्थापित गर्दै नेताहरूलाई जनताको घर–दैलो र गल्ली–गल्लीमा पुग्न बाध्य पारेको छ ।
अहिलेको घरदैलो कता–कता ‘पर्फमेन्स’ जस्तो बन्न पुगेको ढकालको भनाइ छ । उम्मेदवारहरूले मतदातासँगको आत्मीयताभन्दा पनि आफ्नो क्यामेरा टिम र सामाजिक सञ्जालमा हाल्ने ‘कन्टेन्ट’लाई बढी प्राथमिकता दिएको उनले बताए ।
‘सबैभन्दा रोचक पक्ष त मतदाताको मनोविज्ञानमा आएको परिवर्तन हो,’ ढकालले भने, ‘मैले यसलाई एउटा बिम्बमार्फत बुझाउने गरेको छु । पहिलाका मतदाताहरू बादलजस्ता थिए, जसको एउटा निश्चित आकार हुन्थ्यो र कता बग्छ भन्ने अनुमान गर्न सकिन्थ्यो, तर यस पटकका मतदातालाई मैले धुपबाट निस्किएको धुवाँजस्तो पाएको छु । धुवाँको कुनै निश्चित आकार हुँदैन र यो जुनसुकै बेला जुनसुकै दिशामा मोडिन सक्छ ।’
जनतामा राजनीतिक ‘चासो’ ह्वात्तै बढे पनि त्यो चासो कत्तिको राजनीतिक ‘चेतना’ मा बदलिएको छ भन्नेमा आफू अझै स्पष्ट हुन नसकेको ढकालले बताए । ‘अहिलेको जनमत निकै अनिर्णीत र अनिश्चित छ । काठमाडौँदेखि तराईसम्मका मतदाताहरूले विभिन्न दलका झण्डा बोकेका त छन्, तर उनीहरूको भित्री मनले कसलाई रोजेको छ भन्ने कुरा निर्वाचन परिणाम नआएसम्म कसैले पनि ठोकुवा गर्न सक्ने अवस्था छैन,’ उनले भने । यो अनिश्चितताले गर्दा यस पटकको निर्वाचन निकै कन्फ्युजिङ र रोचक बनेको उनको भनाइ छ ।


