सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ कटारी चोकबाट करिब ४९.५८ ग्राम ब्राउनसुगरसहित एक भारतीय युवक पक्राउ परेका छन् । बिहीबार राति करिब ८ः३० बजे इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार भारतको बिहार राज्य, सुपौल जिल्ला समनपुर ग्राम, बिरपुर थाना निवासी २१ वर्षीय मोहम्मद नजरूल मियाँलाई शंकास्पद अवस्थामा जाँच गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको हो । बरामद पदार्थमध्ये प्लास्टिकसहित १.८१ ग्राम (प्लास्टिक बाहेक १.५८ ग्राम) र अर्को पुडिया प्लास्टिकसहित ५०.६२ ग्राम (प्लास्टिक बाहेक ४८.०० ग्राम) रहेको प्रहरीले जनाएको छ । यसरी प्लास्टिक बाहेक जम्मा तौल ४९.५८ ग्राम पुगेको छ ।
गोप्य सूचनाका आधारमा गरिएको निगरानीपछि उक्त पदार्थसहित उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । बरामद गरिएको पदार्थ परीक्षण तथा थप कानुनी प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै सीमा क्षेत्र तथा मुख्य बजार क्षेत्रमा निगरानी कडाइ गरिएको जनाएको छ । पक्राउ परेका युवकविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


