हुलाकी सडकखण्डको सहजा पुल अलपत्र, पुनः दुर्घटना स्थानीय भन्छ जानमारा पुल..

बरियारपट्रटी पुर्व –पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाको औरही गाउँपालिका– ४ इँटाटारमा अलपत्र रहेको सहजा खोलाको पुलमा आइतबार राति पुनः दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका तीनजनाको सिराहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पूर्वबाट सिराहातर्फ आउँदै गरेको बी ए बी ७८२१ नम्बरको कार आइतबार राति करिब १२ बजेतिर दुर्घटना भएको हो ।

इँटाटार गाउँ पार गरेलगत्तै सहजामा दक्षिणतर्फ बनाइएको डाइभर्सनतर्फ मोड्नुपर्नेमा थाहा नभएर सिधै जाँदा कार खोलामा खसेको हुन सक्ने अनुमान गरिएको प्रहीले जनाएको छ । सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका– १४ बस्ने करिब २२ वर्षीय अभिषेककुमार राय, ३९ वर्षीया दीपिकाकुमारी उपाध्याय र २० वर्षीया प्रिती पटेल सामान्य घाइते भई सिराहा प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीले डाइभर्सन खण्डबाट आवतजावत अवरुद्ध गरेकाले खुलाउने प्रयास भइरहेको उनले बताए । स्थानीयले पुल निर्माण अलपत्र छोड्ने निर्माण कम्पनीलाई कारबाहीसहित तत्काल पुल निर्माण थालनी, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चिह्न राख्न र डाइभर्सनस्थलमा बलियो घेरा र रातिको समयमा सडकबत्तीको व्यवस्था गरिनुपर्ने मागसहित सडक अवरुद्ध गरेको स्थानीय अगुवा युवा सन्तोष यादवले जानकारी दिए ।

 

दुई महिनामा तीन दुर्घटना, एक प्रहरीको मृत्यु
१६ मंसिर ०७९ मा भएको ठेक्का सम्झौताअनुसार कुल २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको सहजाको आरसिसी पुल १५ मंसिर ०८१ मा सम्पन्न हुनुपर्ने भए पनि पुलको दुवैतर्फको पाइल ढलानपछि अलपत्र छोडिँदा पछिल्लो दुई महिनाको अवधिमा भएका तीनवटा दुर्घटनामा एक प्रहरीको मृत्यु भएको छ । गत २७ कात्तिकको राति जिल्ला प्रहरी कार्यालय सिराहाबाट ड्युटीमा जाने क्रममा सोही खोलामा भएको मोटरसाइकल दुर्घटनामा प्रहरी जवान करिब २६ वर्षीय सागर हास्दाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट २८ कात्तिकको राति सोही ठाउँमा पूर्वबाट पश्चिमतर्फ जाँदै बा.१५ च ३६७ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा कारचालक धनुषाको बटेश्वर गाउँपालिका ४ बस्ने करिब ३० वर्षका राकेश यादव घाइते भएका थिए ।

 हुलाकी सडकअन्तर्गत सिराहाको औरही र अर्नमा गाउँपालिका जोड्ने सहजा खोलाको पुल निर्माण अलपत्र हुँदा हुलाकी सडक हुँदै ओहोरदोहोर गर्ने यात्रु र स्थानीय सास्ती झेल्न बाध्य हुँदै आएका छन् । औैरही गाउँपालिका– ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवका अनुसार ठेकेदार कम्पनीले खोलाको पुल अलपत्र छोडेपछि सडक हुँदै ओहोरदोहोर गर्नेहरूले मनसुनी वर्षामा वारिपारि गर्नसमेत सकस झेल्दै आइरहेका छन् । ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सक्ने गरी जनकपुरस्थित सुगम निर्माण सेवाले ठेक्का लिएपछि पेटी ठेकेदारको रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई जिम्मा दिएको पुल अलपत्र हुँदा दिनहुँ सास्तीसँगै दिनहुँ सानातिना दुर्घटना भइरहेको स्थानीय बताउँछन् ।

सुगमले सहजाको पुलसहित औरही गाउँपालिका– १ दरहिया गाउँको हुलाकी सडकको बक्स कल्भर्ट गरी भ्याटसमेत ११ करोड ५४ लाख १६ हजार ३७ रुपैयाँ १६ पैसाको ठेक्का सकार गरेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । उक्त ठेक्का रकमको मोबिलाइजेसनबापत पाँच प्रतिशत र गरिएको कामबापत भ्याटसहित तीन करोड ४० लाख ७३ हजार २५० रुपैयाँ एक पैसा ठेकेदार बम्पनीले भुक्तानी लिइसकेको जनाइएको छ ।

सम्वन्धित समाचार :