आजको विश्व इतिहासमै सबैभन्दा छिटो परिवर्तन भइरहेको युग हो। प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रवाह र विश्वव्यापी प्रतिस्पर्धाले राष्ट्रहरूको भविष्य केवल राजनीतिक नाराले होइन; दक्ष, सीपयुक्त र अनुसन्धानमुखी जनशक्तिले निर्धारण गरिरहेको छ। यही सन्दर्भमा एउटा गम्भीर प्रश्न उठ्छ— नवयुवा तथा जेन्जी पुस्ताको मुख्य भूमिका राजनीतिमा प्रत्यक्ष सक्रिय हुनु हो कि सशक्त खबरदारी गर्दै आफ्नो करिअर र ज्ञान निर्माणमा केन्द्रित हुनु ?

नेपालजस्तो विकासोन्मुख देशका लागि यो प्रश्न झनै संवेदनशील छ। यदि नवयुवा आफ्नो ऊर्जाशील उमेर राजनीतिका गुट, झोला बोक्ने संस्कृति र अवसरवादी प्रतिस्पर्धामा खर्च गर्छन् भने भोलि राष्ट्रलाई चाहिने वैज्ञानिक, इन्जिनियर, चिकित्सक, शिक्षक, अनुसन्धानकर्ता र उद्यमी कहाँबाट आउँछन्? यही चिन्तालाई केन्द्रमा राख्दै यो लेख तयार गरिएको हो।
  • राजनीति र अनुभव : प्राचीन दार्शनिकहरूको दृष्टिकोण

राजनीति कस्तो व्यक्तिले गर्नुपर्छ भन्ने प्रश्न नयाँ होइन। प्राचीन ग्रीसका दार्शनिकहरूले यस विषयमा गहिरो बहस गरेका छन्।

सुकरातले लोकतन्त्रमा सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिए। तर, उनले स्पष्ट भने— राज्य सञ्चालन ज्ञान र सद्गुण (Virtue) बिना सम्भव हुँदैन। सुकरातका अनुसार युवा उमेर प्रश्न गर्ने, सिक्ने र आत्मविकास गर्ने समय हो। अनुभव र आत्मसंयमबिना सत्ता सम्हाल्नु भनेको राज्यलाई प्रयोगशाला बनाउनु हो।
प्लेटो, सुकरातका शिष्य अझ स्पष्ट थिए। ‘द रिपब्लिक’ मा उनले भने— राज्य तथा शासन दार्शनिक–व्यक्तिले गर्नुपर्छ। प्लेटोका अनुसार दार्शनिक व्यक्ति बन्न व्यक्तिले लामो अध्ययन, नैतिक अनुशासन र जीवन अनुभवबाट परिपक्व हुनुपर्छ। उनले युवालाई तुरुन्तै राजनीतिमा होमिनुभन्दा ज्ञान, विज्ञान र दर्शनमा समय दिन प्रेरित गरेका छन्
त्यसैगरी अरस्तुले राजनीतिलाई ‘प्रायोगिक विद्या’ भनेका छन्। उनका अनुसार राम्रो शासनका लागि केवल आदर्श होइन, दीर्घ व्यावहारिक अनुभव अनिवार्य हुन्छ। अरस्तुले युवा ऊर्जाशील भए पनि अनुभवको अभावले उनीहरू सजिलै भावनात्मक निर्णयमा पुग्ने चेतावनी दिएका छन्।

यी तीनै दार्शनिकको साझा सन्देशमा के देखिन्छ भने— राजनीति परिपक्वताको क्षेत्र हो, प्रयोगशाला होइन।

  • आधुनिक चिन्तन र युवाको भूमिका

आधुनिक राजनीतिक दर्शनमा पनि युवाको भूमिकाबारे सन्तुलित दृष्टिकोण पाइन्छ। जोन स्टुअर्ट मिलले लोकतन्त्रमा नागरिक सहभागिता अपरिहार्य भएको बताए। तर, उनले सहभागिता र शासन सञ्चालनबिच स्पष्ट भिन्नता गरे। मिलका अनुसार सबै युवा सचेत मतदाता र आलोचक हुनुपर्छ, तर राज्य नेतृत्व अनुभव र क्षमता भएकाले सम्हाल्नुपर्छ।

यसैगरी म्याक्स वेबरले राजनीतिलाई ‘आह्वान’ (Vocation) भनेका छन्। उनका अनुसार राजनीति लोकप्रियता खोज्ने खेल होइन, दीर्घकालीन जिम्मेवारी हो। अनुभवविहीन युवा यदि भावनामा बगेर राजनीतिमा प्रवेश गर्छन् भने उनीहरू नैतिक सङ्कट र अवसरवादमा फस्ने खतरा हुन्छ।

एडम स्मिथजस्ता चिन्तकले भने राष्ट्रको समृद्धि उत्पादनशील जनशक्तिबाट आउने बताए। उनको भनाइअनुसार युवा यदि आफ्नो समय अध्ययन, अनुसन्धान र उद्यमशीलतामा नलगाई राजनीतिमा अल्झिन्छन् भने देशको आर्थिक र बौद्धिक क्षमता कमजोर हुन्छ।

  • जेन्जी पुस्ता : शक्ति र जोखिम

जेन्जी पुस्ता प्रविधिमा दक्ष, प्रश्न गर्न सक्ने र विश्वसँग जोडिएको पुस्ता हो। यो पुस्ताले सत्ता र शक्तिलाई आँखा बन्द गरेर स्वीकार गर्दैन। यो नै उनीहरूको ठुलो शक्ति हो।

तर, विभिन्न दार्शनिक तथा राजनीतिक चिन्तकहरूको भनाइलाई आधार मान्ने हो भने नवयुवाहरू प्रत्यक्ष राजनीतिमा प्रवेश गर्दा उनीहरू गुटबन्दी, शक्ति सङ्घर्ष, पैसाको प्रभाव र व्यक्तिपूजामा फस्ने जोखिममा पर्छन्। यसले उनीहरूको दीर्घकालीन करिअर मात्र होइन, मानसिक स्वतन्त्रता पनि कमजोर हुन जान्छ।

यदि यही पुस्ताले आफ्नो ऊर्जा अनुसन्धान, स्टार्टअप, विज्ञान, प्रविधि, कृषि आधुनिकीकरण र शिक्षा सुधारमा लगायो भने त्यसको प्रभाव राजनीतिभन्दा धेरै दिगो हुन सक्छ।

राजनीतिमा नजाँदैमा युवा निष्क्रिय हुन्छन् भन्ने भ्रम गलत हो। सुकरात स्वयं सत्तामा थिएनन्, तर उनले प्रश्न गरेर एथेन्सलाई झकझक्याए। यही उदाहरणले देखाउँछ कि— सत्ता बाहिरको चेतनशील युवा सत्ता भित्रको कमजोर नेतृत्वभन्दा प्रभावकारी हुन सक्छ। नागरिक निगरानी, तथ्य जाँच, अनुसन्धानमूलक पत्रकारिता, नीति विश्लेषण, सामाजिक बहस र वैचारिक लेखनमा जेन्जी पुस्ताको भूमिका निर्णायक हुन सक्छ।

नेपालमा नवयुवाको राजनीति प्रायः नाराबाजी, झोला बोक्ने संस्कृति र वरिष्ठ नेताको कृपामा सीमित देखिन्छ। नीति निर्माण र दार्शनिक बहसमा युवाको प्रभाव न्यून छ। यस्तो अवस्थामा सबै युवाले राजनीतिमा प्रवेश गर्नुभन्दा अनुभवी, संघर्षशील र परीक्षित व्यक्तिलाई राजनीतिमा अग्रसर गराउने र युवाले बाहिरबाट प्रश्न गर्ने भूमिका खेल्नु बढी उपयोगी देखिन्छ।

  • निष्कर्ष : सन्तुलन नै दीर्घकालीन समाधान

नवयुवा तथा जेन्जी पुस्ताले राजनीतिबाट भाग्नु पर्दैन, तर अल्झिनु पनि हुँदैन। उनीहरूको प्राथमिकता ज्ञान, सीप, अनुसन्धान र करिअर निर्माण हुनुपर्छ।

आजको युवा यदि सशक्त खबरदारी गर्दै आफूलाई सक्षम बनाउँछ भने भोलि परिपक्व उमेरमा राजनीति स्वतः गुणस्तरीय बन्नेछ। अन्ततः प्रश्न राजनीति गर्ने कि नगर्ने होइन, कुन तयारीका साथ र कुन जिम्मेवारीबोधका साथ गर्ने भन्ने हो। यही सोचले मात्र राष्ट्रको सुनौलो भविष्य सुरक्षित गर्न सक्छ।

(लेखक नेपाल पत्रकार महासंघ डोटी–अछाम संयुक्त शाखाका पूर्व सभापति एवं प्रेस स्वतन्त्रता सेनानी हुन्।)

सम्वन्धित समाचार :