नेपाली कांग्रेसको यतिबेला दोस्रो विशेष महाधिवेशन चलिरहेको छ। तर सन्दर्भ विगतदेखि कोट््याउँदै छु। यसले इतिहास केही मात्रामा बनाएको, वर्तमान बिगारेको र भविष्य समाप्त पार्दै गरेको दल बन्दैछ। सुन्दा तीतो लाग्न सक्छ। जन्मदेखि अहिलेसम्म कडा अन्तरान्द तर आत्मघाती झगडाले आक्रान्त कांग्रेसको यहाँसम्मको यात्राले यो बताउँछ। जसमा राजनीतिक, सैद्धान्तिक चेत खुलेको तर व्यावहारिक चेतनाको ढोका भने उग्रन नसकेको टिप्पणी गर्ने ठाउँ छ। इतिहासका विशेष कालखण्डको विशेष मोड र घुम्तीहरूमा पार्टी आन्तरिक दुर्घटनामा परेको र त्यसको असर सिंगो मुलुकको प्रजातन्त्रमा तरंगित भएको पाइन्छ।
सिंहावलोकनमा कांग्रेसी कमजोरी : बीपी कोइरालाको सक्रियतामा भारतमा २००३ सालमा भारतीय नेपाली राष्ट्रिय कांग्रेसको जन्मबाट सन् १९४७ मा ‘नेपाली राष्ट्रिय कांग्रेस’को न्वारन भएको थियो। त्यो कांग्रेसले नेपाललाई मावली होइन, घर नै बनाउन पर्छ भन्ने चेतना पूर्णरूपमा नखुलेकै कारण बेलाबेला भारतको लगावले नेपाली प्रजातन्त्रलाई खिच्ने गर्यो। बीपीले तयार गरिदिएको राजकीय विचारधाराको हैसियतको ‘प्रजातान्त्रिक समाजवाद’ पछिका पुस्तालाई ब्याज खान लगानी गरेको राजनीतिक धनको रूपमा प्रयोग भयो। बीपीको राजनीतिक लगानी, त्याग तपस्यालाई साहु, महाजनको सम्पत्तिमा छोरानातिले बिनाश्रम मोजमस्तीसाथ उपयोग गरे जस्तो गर्यो कांग्रेसले।
२०४६ को जनआन्दोलनसम्म आइपुग्दा कांग्रेसले धेरै लगानी गर्नुपर्यो। प्रजातन्त्रको पुनस्र्थापना गर्न पर्ने चेत खुल्यो। त्यहीअन्तर्गत अन्य वामपन्थी राजनीतिक दलहरूसँग सहकार्य गरेरमात्रै आन्दोलन सफल हुने चेतना कांग्रेसमा छायो। तर प्रजातन्त्रको पुनस्र्थापनापश्चात् राजनीतिक वा वामपन्थी दलहरूसँगको मित्रता र एकताले मात्रै प्राप्त उपलब्धि रक्षा हुने र प्रजातन्त्र सुदृढ तथा बलियो हुने चेत गुम हुँदै गयो। त्यसका लागि राजासँगभन्दा जनता र आन्दोलनको सहयात्री दलहरूसँग दूरी नजिक बनाउनुपर्ने हो त्यत्ति खुलेको देखिएन। त्यसो त प्रजातान्त्रिक पार्टीका आन्तरिक प्रजातन्त्र बलियो बनाउन पार्टीभित्र एकता मजबुत हुनुपर्नेमा ध्यान नखिची सत्ता र गुट, उपगुट मजबुत गर्नेतर्फ कांग्रेस लाग्यो। आफूसँगको सहयात्री वाममोर्चालाई शासित र आफू शासकको हैसियतमा व्यवहार गर्दै दुई गल्ती सँगसँगै गिरिजाप्रसाद कोइरालाको २०४८ पछिको एकलौटी सरकारले गर्दै गयो।
चेत नखुलेको कांग्रेस, सुध्रन नसकेको कांग्रेस : सोही गल्तीले आफ्नो नेतृत्व सरकार भड्खालोमा जाक्किएर २०५१ को निर्वाचनमा ८३ स्थानमा कर्किएर बस्नुपर्यो। २०५६ को आम निर्वाचनमा एकमना सरकार चलाउने गरी जनमत पाएको कांग्रेस कृष्णप्रसाद भट्टराईको नेतृत्व सरकारसहित अगाडि बढे। सो क्रममा पार्टीभित्र षड्यन्त्रमूलक मौलाएका गुट, उपगुटको फलस्वरूप छत्तिसे, बहत्तरेमा विभाजन भए। यसरी, आफ्नै नेतृत्व सरकार पूर्णकालीन चल्न पाएन। पार्टीभित्रको यस्तो सत्ता, पद र शक्तिको लँुछाचुँडीले प्रजातन्त्र कमजोर बनाउँदै लगे। कांग्रेस नेतृत्वका अनुदार र अप्रजातान्त्रिक सोचसँगै चरित्रकै कारण कांग्रेसले नै २०५२ मा माओवादी जनयुद्ध जन्मायो। दरबार हत्याकाण्डले मौका पायो। राजतन्त्र बलियो बन्दै जाने क्रममा हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्रको ‘कु’को सिकार मुलुकलाई बनायो। प्रजातन्त्र अपहरण भयो।
यति हुँदाहुँदै पनि कांग्रेसमा चेत खुलेन, सुध्रेन। सच्चिएर नआएको आजसम्मको द्वन्द्व पुष्टि छ। प्रजातन्त्रलाई केवल कर्मकाण्डीतन्त्र बनाउने तर भौतिकवादी र वस्तुवादी ढंगले रूपान्तरित हुन गाह्रो हुँदै आयो। प्रजातन्त्र कुनै अमूर्त सिद्धान्तमात्रै नभई व्यवहारमा वस्तुगत ढंगले आउनु पर्दथ्यो र पर्छ। यो समाजको रूपान्तरित तन्त्र हुनु पर्दथ्यो र पर्छ। यो मापनीय, जाँचकीय र परिणाममुखी हुनु जरुरी छ। २००३ सालको चेतनाबाट जन्मेको प्रजातन्त्र त २०७२ मा यात्रा गर्दा समय परिवर्तनसँगै रूपान्तरित हुँदै अग्रगतिको धावक बन्न सकेन। प्रजातन्त्र आफैं स्वतःस्फूर्त ढंगले बिना चलायमान उत्पादित हुने मेसिन पनि होइन। ‘राजनीतिक परिवर्तनमात्र प्रजातन्त्र हो’ भन्ने कांग्रेसको प्रजातन्त्रको बुझाइप्रतिको खोट देखिन्छ। प्रजातन्त्र त सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक आदि सबै क्षेत्रको रूपान्तरण हो। ती क्षेत्रहरूको परिवर्तनबिना प्रजातन्त्र दिगो ढंगले जीवन्त भई बाँच्न पक्कै सक्दैन।
कांग्रेस नामको क्यारामबोर्ड र कार्यकर्ता नामका गोटीको खेल : जनआन्दोलन—२ पश्चात् कांग्रेसको राजासहितको प्रजातन्त्रको धारणा जनताले बदलेर गणतन्त्र स्थापना भइसकेको अवस्था छ। फेरि पनि त्यसलाई लोकतन्त्रको फराकिलो दायरामा स्थापित गर्न नसकेर कांग्रेसले पुनः नाजुक अवस्था व्यहोर्दैछ। केही सीमित धनाढ्यवर्ग, हिन्दुवाद, कथित उपल्लोजात, नातावाद, कृपावाद, गुटवाद र ठेकेदारवादको बार नागेर हिजै समावेशीकरण हुन सकेको भए ? अनि समाजका हरेक पक्षलाई दह्रोसँग पकड्न सकेको
भए ? भए पक्कै कांग्रेस कहाँ पुग्दथ्यो होला ? प्रजातन्त्रको ओथारोमा भ्रष्टाचार नकोरलेको भए आज कति हाईहाई हुन्थ्यो होला ?
यद्यपि संविधानसभाको दोस्रो निर्वाचनले कांग्रेसलाई थोरै फुर्किन ठाउँ दिएकोलाई अवसरको आधारको रूपमा उत्तरआधुनिक लोकतान्त्रिक चरित्र देखाउन जरुरीमा पनि फेल खायो। सवै जातीय, भाषीय, लिंगीय, क्षेत्रीय, वर्गीय, पेसागत, उत्पीडित, सीमान्तकृत, दलीय आदिसम्म विस्तारित नेपाली समाजको सम्पूर्णताको बाहुल्य प्रतिनिधित्व र पहुँचले कांग्रेसलाई तागतिलोे भिटामिन बन्ने बुझाइमा स्पष्ट हुन सकेन। हिजोको पुरानो चरित्र, व्यवहार तथा गल्ती, कमजोरीलाई पुरै मेटेर जान, सत्ता, कुर्ची र पदको लोभबाट पूरै मुक्त नभई फेरि पनि कांग्रेस पदीय लुँछाचुँडीमा जीवनमरण लडाइँ लडेको आभास मिल्छ। जब सत्ता र महाधिवेशन हात लाग्ने अवस्था आउँछ तब यस्तै हुन्छ। गुटबन्दी सक्रिय हुन्छ।
कसरी रड्कियो बीपीको प्रजातान्त्रिक समाजवाद ? : अघिल्लो महाधिवेशनमा पनि सभापतिलगायत विभिन्न पदका लागि कांग्रेसमा रगीबिरंगीका प्यानल खडा थिए। पार्टीको भन्दा पनि मुलुककै नेतृत्व गरेर आफ्नो नेतृत्वमा जनसंविधान कार्यान्वयन गरी मुलुकमा सफलताको ऐतिहासिक रेकर्ड कायम गर्नमा सार्थकता दिन सकेन। केवल पदको भागबन्डा र लडाइँमा व्यक्ति र गुटगत कलह र विवाद मच्चाएर पुरानो गल्तीमै कांग्रेसले तत्काल नीति र कार्यक्रम तथा कार्ययोजनाको महाधिवेशन नगरेर पद हडप्ने महाधिवेशन मात्र गरेको थियो। त्यतिबेला सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने भन्ने लडाइँ चलेको थियो। जो इतिहासदेखिको सत्ता प्रवृत्तिको पुनरावृत्ति थियो। पुरानो गल्ती दोहोर्याए कांग्रेसले अब पनि जनमाफी नपाउँला भन्ने कांग्रेसलाई चेतना किन भएन !
बीपीको प्रजातान्त्रिक समाजवादको राजनीतिक कडी त्रिपक्ष राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीन सिद्धान्त थिए। बीपी वास्तवमा भन्ने हो भने कम्युनिस्ट र कांग्रेस दुवैको नेतृत्व क्षमता राख्ने एउटा दूरदर्शी बहुप्रतिभाशाली नेता थिए। बीपीको प्रजातान्त्रिक समाजवाद एक खालको कम्युनिस्ट र कांग्रेसको फ्युजन ठिमाहा सिद्धान्त हो। यसलाई मध्यमार्गी रूपमा लिन सकिन्छ। आजको २१औं शताब्दीको बहुमूल्य, बहुमान्यता, बहुसत्य, आदि ढंगले बहुलवादी समाजको चरित्रको फाँटमा उभिएर केलाउने हो भने उनी दूरदर्शी नेता नै स्वीकार्य छन्। उनले लिएको प्रजातान्त्रिक समाजवादको नीति तथा सिद्धान्त अहिलेको जटिल संरचना र प्रवृत्तिगत समाज जो व्यक्तिवादतर्फ उन्मुखलाई पकड्न र समेट्न सुहाउँदो रहेछ।
खै त्यो आदर्श र मूल्य मान्यता बोकेको कांग्रेस ? : बीपीकोे प्रजातान्त्रिक समाजवाद अमेरिकन दार्शनिक थोमस जेफर्सन र तत्कालीन राष्ट्रपति अब्राहम लिंकनको सिद्धान्तकै कपिराइटजस्तै हुन्। थोमस जेफर्सनको दार्शनिक अवधार सबै समानको अवधारणा बीपीको पनि देखिन्छ। उनको समाजवाद मुख्य लक्ष्य नै समानता थियो। त्यो समानता राजनीतिक र आर्थिक समानता हुन्। राजनीतिक रूपमा बहुविचार र बहुसिद्धान्तका आधारमा सबैको समान अधिकार जसलाई प्रजातन्त्रसँग जोडेका छन्। व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी र संगठनमा आबद्ध हुने अधिकार आदि प्रजातन्त्रको अभिन्न अंग ठान्थे महान् नेता बीपी। जसले जनताको स्वतन्त्र मतद्वारा असल व्यक्ति वा नेतृत्व छनोट गरिने र मनमा लागेका तर्क, वितर्क तथा असन्तुष्टिलाई निर्धक्क राख्न पाउने वाक स्वतन्त्रलाई जोड दिए। सानो ठूलो, धनी–गरिब, महिला–पुरुष, तागाधारी–मतवाली आदि केहीको अभाव, प्रभाव र छनक राख्न नहुने मान्यता उनको थियो। विचारको ‘बदर होइन कदर’ हुन सक्थ्यो।
पार्टी वा संगठनको स्वतन्त्रताले वाद, प्रतिवाद र संवादको दार्शनिक माध्यम द्वन्द्ववाद मार्फत नयाँ वैचारिक जन्मले प्राथमिकता पाउन सक्ने अवस्था रहन्थ्यो। आर्थिक समानताका लागि उत्पादन प्रणालीमा सुधार ल्याएर उत्पादन वृद्धिमा जोड दिएका थिए, जहाँ समान वितरण गर्न सकियोस्। सबैको चार कोठाको घर, एक हल गोरु र एउटा दुहुनो गाई व्यवस्था बीपीको समाजवादको न्यूनतम परिपूर्तिको अवधारणा थियो। आर्थिक हिसाबले कोही भोको नांगो, रोगी अशिक्षित, हिंसा पीडित हुन नपाउने ढंगको योजना थियो। बीपीको प्रजातान्त्रिक समाजवादलाई बृहत् ढंगले लागू गरेको भए कांग्रेस सायद निर्विकल्प नै हुने थियो। त्यो आदर्श र मूल्य मान्यतामा कांग्रेसको यात्रा निरन्तरता कायम भएको भए सायद नेपालमा कम्युनिस्ट पार्टीहरू नै जन्मन्थेन होला !
वर्तमान द्वन्दको जात्रा– किन बोल्दैन कांग्रेस ? :
जेन–जी प्रोटेस्टले ढलेको, जलेको र गलेको मुलुक यतिबेला थिलथिलो रूपमा पिल्सिएको छ। होनाहार नौजवानको दर्जनौं र अर्बौंको क्षतिले देश डुबिरहेको छ। मुलुकले यो दुर्दशा भोगाइको मर्म र भावना पूरा हुने छाँटकाँट छैन। यस्तो ऐतिहासिक नचिताएको राष्ट्रिय दुर्घटनाप्रति अरू लगभग सबै दलको सकारात्मक/नकारात्मक प्रष्ट धारणाहरू आए। तर कांग्रेसजस्तो जिम्मेवार दलको यो घटनाप्रति स्प्रष्ट धारणा आउन सकेन। यो उद्देकको कुरा हो।
शोक र पीडामा डुबेको देशले उपचार खोजिरहेको बेला कांग्रेस यतिबेला झन् महारोगी छ र आफ्नै उपचारमा छ। ‘कसलाई के धन्दा ? घरज्वाइँलाई खानकै धन्दा’ भने झैं कांग्रेसलाई गुट बलियोको, पदको, कुर्चीको, आफ्नोको, स्वार्थको आदि तुच्छ धन्दा छ। महाधिवेशनको धन्दा छ। सभापति र पदाधिकारी हडप्ने महायुद्ध चलिरहेको छ। गाईजात्रा छ। नौटंकी चलिरहेको छ। पार्टी कार्यालय तोडफोड छ। एउटै पार्टी हो कि भिन्न हुन मेसोमेलो छैन।
महाधिवेशन/विशेष अधिवेशन सार्ने र टार्ने मुद्दामा लडाइँ थियो हिजोसम्म। सायद यो उनीहरूको प्रजातान्त्रिक वा लोकतान्त्रिक अभ्यास होला ! के कांग्रेस पार्टीमा प्रजातन्त्रको परिभाषा बदलिएको हो ? यस्तो विभाजित र लुँछाचुँडीको भयावह लडाइँको नतिजाको महाधिवेशन वा विशेष अधिवेशनबाट आउने परिणामले अर्थ के राख्ला ? यो दलको समस्या र द्वन्द्व समाधान होला कि झन् विकराल ? अब जगजाहेर छ कि कांग्रेसलाई देशको पीडाको चिन्ता गर्ने मतलव, चासो र फुर्सद होला ? के यो विशेष महाधिवेसनले कांग्रेसलाई लयमा फर्काउला ?
लेखक : प्राध्यापक पेसामा छन्।


