त्यो दिन समान्य नै लागेको थियो । बेलुका रोहितले सन्देश पठाएका रहेछन् । सार विवरण– ‘आज हामी स्वनाम साथीसँग भेटेर आयौँ । हामीले धरानदेखि खोजेको मान्छे बल्ल भेटियोजस्तो लाग्यो । साक्षात ऋषि !’ भन्ने थियो । यही बिन्दुबाट रोहितमार्फत स्वनाम साथी (दाइ)सँग सामान्यबाट बिस्तारै दैनिक ६–७ घण्टासम्मको सघन सम्पर्क हुन थाल्यो ।

आज त्यो ऋषिको ज्ञानीय पुञ्जको परिधित्मक प्रकाशमात्रै सम्झिँदा पनि रोहितले सन्देश पठाएको त्यो दिन कसरी सामान्य मान्न सकौँला र !

दर्शनले सम्भवतः प्रज्ञाप्रतिको प्रेम व्यक्त गर्ला । उक्त प्रेमपूर्ण अन्वेषण सायद मान्छेले आफ्नाबारे आधारभूत आर्य सत्य, मातृकामय प्रकृतिको सत्व अनि आफ्ना र प्रकृतिबिचको रहस्यको निश्चय गर्ने प्रयास गर्ला । समग्रमा कसैलाई तमाम गुण बुझे है भन्ने लागेपछि पुग्दो हो । कसैलाई बुझे झैँ भएर पुग्दैन, मुख्यतः बदल्नै पर्छ भन्ने लाग्दो हो भने कसैलाई अरुले बुझेँ भनेको सुनेर वा पढेर नै निरूपाधिक विश्वाश उत्पन्न पनि हुँदो होला । अर्थात् अनेक–अनेक मार्ग होलान् । अनि तदनुसारका व्यवहार पनि देखा पर्लान् ।

स्वनाम दाइका बचनमा दर्शनको भवसागरीय बहुआयामिक बोधहरूको निकै सरलीकृत व्याख्या थियो– आफैँले बुझ । जे बुझ्यौ, प्रथमतः आफैँमा लागु गर । चित्त बुझे अघि बढ । चित्त नबुझे हुन्देऊ । किन टाउको दुखाउँछौँ ?

अब जे बुझ्यौ त्यो आफ्नै व्यवहारमा लागु गर है भनेपछि लगभग सबै बुझियो, अब बदल्नु पर्छ भनेर पटक्कै नबदलिने र कालन्तरमा बुझेको पनि नहुनेका निम्ति त्यो भयानक परकम्पन हुने रहेछ । द्वैधता अधिकतम समस्याको जड हो भन्दा रहेछन् विषयगत ज्ञाताहरू । अर्थात् चिन्तन–बिचार र बचनमा द्वैधता, बचन र व्यवहारमा द्वैधता अनि व्यवहार र चिन्तन–बिचारमा द्वैधता । हामी धेरैमा शीरदेखि पाउसम्म अनि सूर्याेदयदेखि सूर्यास्तसम्म लगभग घाँटी–घाँटी द्वैधता भेटिने रहेछ । यस्तोमा बिचार, बचन र व्यवहार माझको सन्तुलन र एकरूपता स्वनाम दाइको लौकिक परिचय थियो भन्नेमा उहाँको सत्सङ्गमा हुने सबैले अवलोकन गरेकै हुनु पर्दछ ।

दुनियाँ वर्गीय छ । सँगसँगै गतिशील पनि छ । दुनियाँको फरक भूगोलमा वर्गहीन दुनियाँ बारेको बहस–परिकल्पना र त्यसको सफल–असफल प्रयोगबारेका भाष्यहरू हाम्रो भूगोल (दक्षिण एसिया)सम्म अनेक तरिकाले आइपुगेका छन् । स्वयंले देखेको वा सोचेको विषयले बाणीको रूप धारण गर्दा नै भेद हुन सक्छ । अझ दुनियाँको फरक भूगोलबाट बहुमाध्यम हुँदै आउदा वर्गविहीन दुनियाँबारेको भाष्यसँग हामीले आजसम्म गरेको र भविष्यमा गर्ने भलाकुसारी पनि पूर्ण नहुन सक्ने सम्भावना उत्तिकै हुँदो रहेछ ।

आफैँलाई चर्काे ब्याज असुल्ने सुदखोर साहुलाई ‘साहुबा’को न्यानो सम्बन्ध राख्ने समाजमा यस्ता जटिल विषयबारे आफ्नै दिमाग खियाएर हुने अन्वेषणको आवश्यकता देख्नुभएको थियो स्वनाम दाइले । बुद्धले दुःख छ, दुःखको कारण छ र समाधान पनि छ भनेजस्तै दुनियाँ वर्गीय छ, वर्गीय हुनुको कारण छ र समाधान पनि छ भन्ने बिचार पटक–पटक शैशवकालमै अनपेक्षित र अचिन्तित संकटमा पर्ने विषय सामान्य होइन । यसबारे हुने चर्चामा स्वनाम दाइ अनेक सम्भावित कारणमध्ये मानवीय चित्तको स्वाभाविक चञ्चलतालाई केन्द्रमा राख्ने गर्नु हुन्थ्यो भन्ने लाग्दछ ।

उहाँले अस्थिर चित्त लिएर अर्काका लागि क्रान्ति गरिदिने गह्रौँ कुरा, सुदूर भविष्यमा आउने वर्गविहीन समाजको निम्ति अहिले सिन्को भाँच्न नपर्ने दिक्कलाग्दो व्यवहार, चञ्चल चित्तलाई अवलोकन नगरी बलात नियन्त्रण गर्न खोज्ने शुष्क आदर्श– सबैको कुल योग नै संकटका कारण थिए । मोहयुक्त चित्तले आफूलाई स्वघोषित सर्वहारा आदि–इत्यादि भन्नुभन्दा त्यसको दर्शनाभिलासीसम्म भन्न सकिएला कि भन्ने मान्यता लिनु भएको देखिन्थ्यो ।

यस बिन्दुमा मूलतः हामी उभिएको भूगोल (दक्षिण एसिया) भित्र अन्वेसित ध्यान र योगलाई चित्त स्थिर बनाउने वैज्ञानिक साधनको रूपमा प्रयोग गर्नुपर्ने सुझाव अनवरत दिनुभएको थियो । मान्छे शान्त छैन, मान्छे शान्त हुँदा स्नायुहरूको अन्तर्क्रियाको बोध हुन सक्छ । अर्थात् जे–जति सकिन्छ, चित्त शान्त बनाएर आफूलाई अहिले यही बिन्दुबाट सकेजति अवर्गीकृत गर्न सुरु नगर्दासम्म, आफ्नो जीवनमा रहेको नियन्त्रण पूँजीवादलाई क्रमशः हटाउने प्रयास नगर्दासम्म त्यो सुदूरमा आउने भनिएको वर्गविहीन समाज एउटा भ्रममात्रै हुने बिचार र व्यवहारको पर्यायको रूपमा स्वनाम साथी सदैव उभिएको बोध हुन्थ्यो । कुल मिलाएर– मास्टर थिफुले भनेजस्तै पढ्ने र जान्नेभन्दा पनि व्यवहारमा लागु गर्नु प्रमुख थियो स्वनाम दाइका निम्ति ।

हामी उभिएको धरातल कस्तो छ ? ‘बाह्र सत्ताइस कुरा नगर’ भनिरहँदा १२ राशि र २७ नक्षत्रसँग जोडिने रहेछ, निधारमा घसिने ‘त्रिपुण्ड’मा तीन गुण आइपुग्ने रहेछन् । हाम्रो भूगोल अलिकति खोतल्दा कतै ‘प्रजापति’ भेटिन्छ । कतै ‘नरेश’ भेटिन्छ । कतै ‘गणनायक’ भेटिन्छ । कतै बृहस्पति, कतै कपिल, कतै महावीर, कतै गौतम, कतै शंकराचार्य ठोक्किन्छन् । कतै ‘भगवान’ भेटिन्छ । कतै ‘अर्धनारिश्वर’ भेटिन्छ । यतिले नपुगेर त्रिपुरका कुरा, सुमेरका कुरा, हिमवतका कुरा, नाक, आँखा, छालाका कुरा, मोहन जोदाडोका अस्थिपञ्जरका कुरा अर्थात् भवसागर भेटिन्छ ।

विपरीतबाट मुक्त होइन,m समभाव हुने भन्ने सुनिन्छ । तथागत हुने भन्ने सुनिन्छ– आदि इत्यादि ।

अझ भएन, एकाबिहानै घर अगाडि आएर कसैले ‘अलख निरन्जन’ अर्थात् लख काट्न नसकिने लक्षण नभएको साकार निराकार विशुद्ध भन्छ । त्यो सन्दर्भ गएर इतिहासमा भएको राज्य निर्माणको प्रक्रियामा जोडिन्छ । हाम्रो समाज यस्तै अनगिन्ती रहस्यको सँगालो रहेछ । अनि हामीले यिनको अध्ययन नगरी, अन्तर्सम्बन्ध नबुझी, यिनमा भएको द्वन्द्वात्मक सङ्गम नभेटी ‘न्यायाधीश’ बन्न खोज्दा धुमिल हुने रहेछ । धुमिल हुने भनेको बुझ्नु होइन रहेछ, त्यो त आफूले पनि नबुझ्ने र अरुलाई पनि बुझ्न नदिने रहेछ । स्वनाम दाइको खोज टाउकोले टेकेको हेगेल, खुट्टाले टेकेको मार्क्स, सियोको टुप्पोभन्दा अनगिन्ती साना परमाणु र उपपरमाणविक कणहरूमा घटित हुने विज्ञान सँगसँगै आफ्नो भूगोलको रसायनबारे पनि धुमिल नभै बुझ्नु र व्यहारमा उतार्नु थियो ।

जीवनका स्वर्णिम र उर्वर समय आफ्नो आस्था रहेको दर्शन र वर्गमा निःस्वार्थ समर्पित स्वनाम दाइ हामीले देखेको र जानेको राजनीतिको समय अनि कालभन्दा माथि पुगिसक्नु भएको रहेछ । त्यसैले त्यो नियमित राजनीतिले उहाँलाई बाँधेर राख्न सकेन । निर्वाचनदेखि निर्वाचनसम्मको व्यवस्था अनि विचार, बचन, व्यवहारमा अनेकता बोक्ने त्यसका अनगिन्ती नरेश्वरप्रति उहाँको सार यस्तो सुनिन्थ्यो–

घाउ हुने मान्छे यस्तो हुन्छ ?

अहँ हुँदैन ।

च‍ह¥याइरहन्छ हरेक दिन, हरेक रात

यी यहाँनिर (छाती देखाउँदै) ।

तर ब्रह्मान्डलाई मतलब छैन ।

हामीले आजसम्म देखेको विकासले कुल मिलाएर छ्याल्ल ब्याल्ल उत्पादन गर्ने, बेच्ने र अनुकुलन अनि अधिकतम फाइदा निकाल्ने वरपर नै आफूलाई सीमित गरेको छ । प्रविधिको सही प्रयोग गर्दा मान्छेले हप्तामा केही दिन, केही घण्टा काम गर्दामात्रै पुग्ने अवस्था छ, तर जीवन व्यवहारमा भयानक भोकमरी छ । अझै पुँजीवादको केन्द्रमा झनै खराब अवस्था छ । सोभियत संघ एउटा फरक सिद्धान्तको बेग्लै आर्थिक सम्बन्धको सफल प्रयोग थियो । पुँजीवादको सापेक्ष तुलनामा सोभियत संघले अद्भुत विकास ग¥यो । विद्वानहरूले सोभियत संघलाई बेग्लाबेग्लै कोणबाट विवेचना गरे । केहीले समाजवाद आइसकेको भने । कतिले समाजवादतर्फ अग्रसर हुँदैछ भने । कतिले यसलाई नयाँ र स्थिर उत्पादन सम्बन्ध भएको भने । कतिले राज्य नियन्त्रित पुँजीवाद पनि भने । विद्वानहरूले थप के पनि भने भने सोभियत समाज पुँजीवाद भन्दा विकसित बिन्दुमा पुगेको हुँदा अब पछाडि फर्किन सम्भव छैन ।

सारमा पुँजीवादीले गरेजस्तै ठुला मेसिन प्रयोग गरी छ्याल्ल ब्याल्ल उत्पादन गर्नु नै नयाँ भनिएको व्यवस्थाको व्यवहारमा पनि देखियो । मान्छे अन्नपानी नहुँदा केही दिन बाँच्न सक्ने रहेछ, तर हावा नहुँदा त्यो सम्भव नहुने रहेछ । सोभियतमा चेर्नाेभिल, पछि जापानमा फुकिसिमा हामीले भनेको सम्पन्नता र विकासले निम्त्याउन सक्ने दुर्घटना थिए । माटो, हावा, पानी बिगारेर आउने विकास र सम्पन्नता क्षणिक हुने रहेछ । नेपालमा कोरोनाले भएको बन्दाबन्दीको समयमा मजदुर रुँदै खाली खुट्टा हिँड्न पर्ने भयो । त्यही कोरोनाको बन्दाबन्दीमा दुरदुरबाट सगरमाथा देखियो । अर्थात् हामीले गरेको विकासले त कठिन समयमा मजदुर रुवाउँदो रहेछ । सगरमाथा ढाक्दो रहेछ । अब आफैँ बुझ्नुस्, हामीले कस्तो विकास खोजेको हो ? न्यूनतममा बाँच्न र पुँजीवादको विज्ञापनलाई अस्वीकार गर्न नसिकी यो लडाइँ जितिँदैन भन्ने स्वनाम दाइको अर्थ राजनीति र विकास सम्बन्धी धारणा हाम्रो चेतनाले बुझ्न र ग्रहण गर्न अझै युगौँ कुर्नुपर्ने हुन सक्छ ।

भुपी शेरचनले उहिले लेख्नुभएको रहेछ, हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाइदिनु पर्ने ।

स्वनाम दाइमा त्यो तत्व थियो, जसले सबैलाई बाँध्न, जोड्न सक्दथ्यो । हामी समान पनि छौँ । हामी फरक पनि छौँ । जस्तै हाम्रो रगत रातै हो तर आठ समूहमा विभक्त छ । सबै एक अर्कासँग मिल्दैनन् । जबर्जस्ती मिलाउँदा ज्यानै जान पनि सक्छ । तसर्थ मिल्ने–मिल्ने कुरा लिएर अघि बढ्ने हो, नमिल्ने त छँदै छ नि भन्ने स्वनाम दाइको सूत्र व्यावहारिक देखिन्थ्यो । त्यसैले हुनु पर्छ, उहाँ राजनीतिमा जति सबैका लागि आदर्श हुनुहुन्थ्यो, विश्व विद्यालयका लागि त्यति नै युतीसम्पन्न हुनुहुन्थ्यो । अझ त्योभन्दा पनि धेरै परसम्म विपुल हुनुहुँदो रहेछ । हामीले प्रत्यक्ष देख्यौँ । आजीवन अध्यात्ममा लीन भएर निर्वाण प्राप्त गरेको मुखरयति गर्ने तर फरकसँग मिल्नै नसक्ने प्रतापीहरूलाई समान उद्देश्यका निम्ति सहकार्य गर्न एकै बिन्दुमा उभ्याउन स्वनाम साथी सफल हुनुहुन्थ्यो । यसैलाई देखेर प्रदिप गिरीले गने चुनेका अध्यामिक जनहरू उपस्थित एउटा कार्यक्रमका भन्नुभएको थियो– सबै अध्यात्मिक देख्छु तर तपाईंहरूलाई थाहा छ स्वनाम साथी कति भौतिकवादी हनुहुन्छ ?

स्वनाम दाइभित्रको त्यो योजन तत्व सायद विचार, बचन, व्यवहारमा रहेको एकरुपताको प्रतिफल थियो । सर्वमान्य भनेको सायद यस्तै केही होला ।

स्वनाम दाइबारे हामीले भुल्न नसकिने अनेक सन्दर्भ छन्, तर देशले नै भुल्न नहुने विशेष सन्दर्भ पनि छ । एउटा समय आयो । नेपाली भूभाग लिपुलेकमा विदेशीले झन्डा फहराएको थाहा भयो । जनस्तरमा त्यसको चरम विरोध भयो, तर नेपाल सरकार लाचार बनेर आफ्नो नक्सा पनि जारी गर्न सकिरहेको थिएन । प्राध्यापक, राजनीतिज्ञ, सीमाविद्, विद्यार्थी, श्रमिक, विदेशमा हुने नेपाली लगायत सबैलाई जोडेर बनेको सीमा बचाउ अभियान स्वनाम दाइको मूल अभियांत्रिकी थियो । समयक्रमसँगै देशैभरि र विदेशमा ‘सीमा बचाउ अभियान’ले जागरणपूर्ण गति लियो । कल्कलाउँदो जवानदेखि ९० वर्षका नेपाली यस अभियानमा जोडिएका थिए । त्यो नितान्त स्वनाम दाइको सर्वमान्य र आदर्शपूर्ण चरित्रले गर्दामात्रै सम्भव थियो ।

यद्यपि उहाँले देखिने भूमिकामा आफूलाई राख्नुभएको थिएन । सीमा बचाउ अभियानले जनस्तरबाट लिपुलेक सहितको नेपालको नक्सा जारी गरी सरकारलाई हस्तान्तरण ग¥यो । सबैको व्यापक जनदबाब पश्चात नेपाल सरकारले लिपुलेकसहितको नक्सा संघीय संसदबाट पारित गर्न बाध्य भयो । यद्यपि नक्सा जारी भएपछिका आयामबारे बहस हुन सक्छ । यो पूरै प्रक्रियामा मैले फरक–फरक विषयको सुवास पाएँ । प्रथम– शान्तिपूर्ण आन्दोलन असफलमात्रै होइन, मिलाउन जान्दा सफल पनि हुँदोरहेछ । दोस्रो– यस्तो अभियानका निम्ति मूल अगुवाको स्वच्छ आदर्श र सफा चरित्र चाहिँदो रहेछ । तेस्रो– रुखजस्तो ठाडोभन्दा अदुवा वा दुधे घाँसजस्तो तेर्साे संगठनात्मक प्रणाली चुस्त र स्वचालित हुने रहेछ । लिपुलेक सहितको नेपालको अद्यावधिक नक्साको सन्दर्भमा त्यो अभियान र स्वनाम दाइबारे धेरै उल्लेख भएको त पाइँदैन, तर नेपालको अद्यावधिक नक्सामा म सधैँ स्वनाम दाइको प्रभोदित अनुहार देख्छु ।

स्वनाम दाइका सम्वादमा मेनिफेस्टो, युवा र प्रौढ मार्क्सबिचको भेद, लेनिनको लेटर्स फ्रम अफार, व्यवस्थापन र शासनबिचको भेद, सार्वभौमवाद र व्यक्तिवाद, पर्यावरण जस्ता सन्दर्भ असाध्यै दोहोरिइरहन्थे । बुद्ध, महावीर बाहेक प्रेम चन्द, मन्टो, फैज, हेनरी, दो बिघा जमिन पनि नियमित पालै–पालो आउँथे । बिइङ र नथिङ भन्दा ‘बिकमिङ’को ध्वनि धेरै सुनिन्थ्यो ।

मान्छेको मनमा विविध कारणले तुफान आउने, संसार बदल्न सक्छु भन्ने लाग्ने नयाँ कुरा होइन रहेछ । यो त ५ हजार वर्ष अघिदेखि निरन्तर चलेको रहेछ । तर मान्छे जन्मिएको केही समयपछि नै वरपरको परिवेश अनुसार ‘प्रोग्राम्ड’ हुने हुँदा गर्नपर्ने, गर्न सक्ने र गर्न हुनेको सीमामा बाँधिने रहेछ । यही गर्न पर्ने, गर्न सक्ने र गर्न हुने बिचको सन्तुलन, विचार–बचन, व्यवहारबिचको अन्तरलाई संकिर्ण बनाउन सचेत पहल गर्न सक्नु ठुलो उपलब्धि हुने रहेछ । सम्भवतः स्वनाम दाइसँग भेट नभएको भए, आफूले आदर्श मानेको मार्ग गलत त होइन भन्ने शंकैशंकामा बित्न सक्थ्यो । स्वनाम दाइको चित्रले यो मार्ग बेठिक होइन, बरु हिँड्न सक्ने र नसक्ने त म स्वयंमा पो भर पर्ने रहेछ भन्ने अनुभूति भएको छ ।

समय सधैँ एकनास नहुने रहेछ । कोरोना आयो । संसार ठप्प भयो । अलि पछि खोप पनि आयो, तर स्वनाम साथी दाइ अघि लाग्नुभयो । आउनु र जानु नित्य नै थियो, तर नित्य सधैँ सहज नै हुन्छ भन्ने कहाँ हुँदो रहेछ र ! स्वनाम दाइको त्यो अनुकरणीय आदर्श र सर्वमान्य चरित्रको अभाव नेपाली समाजलाई अप्ठ्यारो पर्दा युगौँ पर्यन्त खट्किने छ । व्यक्तिगत तहमा बिहेमा स्वनाम दाइसँग सामूहिक आशिर्वाद लिने मेरो र बिनुको अनि रोहित र जलजलाको कामना, स्वनाम दाइसँग डन्डाको कम्युन जाने कुरा, सोलुखुम्बु र जर्मनीको साक्सनका तत्वसँग सामूहिक साक्षात्कार गर्ने योजना, द्वन्द्ववादको व्यवस्थित अध्ययन गर्ने लगायत अनेकौँ परिकल्पना अधुरै रहे ।

खैर तथागतको, महाभुतको, सतको के नै वर्णन हुन सक्ला र ! तथापि हामी आजीवन सम्झिरहनेछौँ । निराकार, व्यक्त–अव्यक्त भन्दा पर बोधमय सत, चित अनि आनन्द, अर्थात् स्वनाम साथी । सर्वहारा आन्दोलन र व्यवहारको सर्वनाम अर्थात् स्वनाम साथी ।

(जर्मनीबाट)

सम्वन्धित समाचार :