सिरहाको हात्ती दह बनेको छ आकर्षक पिकनिक तथा इको–टुरिजम गन्तव्य

सिरहा । चुरे फेदी क्षेत्रमा अवस्थित ‘कोइरालो खोला सामुदायिक वन’ भित्रको सिमसार क्षेत्र संरक्षण गरी इको–टुरिजम विकास गरिएपछि हात्ती दह पर्यटकीय स्थल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

डिभिजन वन कार्यालय, लहानको प्राविधिक तथा आर्थिक सहयोगमा सुरु गरिएको सिमसार क्षेत्र संरक्षण अभियानमा स्थानीय तह, संघीय संसदीय विकास कोष, वन तथा भू–संरक्षण विभाग, चुरे राष्ट्रपति तराई–मधेस विकास समिति, बृहत् जलाधार आयोजना, लहान नगरपालिका तथा वडा नम्बर १५ को उल्लेखनीय आर्थिक सहयोग रहेको छ।

यस सिमसार क्षेत्रलाई अहिले औपचारिक रूपमा ‘हात्ती दह पर्यटकीय स्थल’ नाम दिइएको छ। सामुदायिक वनका अध्यक्ष रुद्र चौधरीका अनुसार करिब डेढ दशकअघि कोशी टप्पु क्षेत्रबाट आएको जंगली हात्तीले यहाँ दुई जनाको ज्यान लिएको थियो। सो घटनापछि हात्ती खोज्दै स्थानीयहरू सामुदायिक वनभित्र पसेका थिए। खोजतलासकै क्रममा सिमसारभित्र दहको पानीमा हात्ती डुबेको जस्तो देखिएपछि त्यस स्थानलाई ‘हात्ती डुब्ने दह’, पछि छोटकरीमा ‘हात्ती दह’ भन्न थालिएको हो।

सिमसार संरक्षण कार्यक्रमअन्तर्गत झाडी सफाइ, तालको जीर्णोद्धार, वातावरणीय सुधार लगायतका कार्य सम्पन्न भइसकेका छन्। लहान नगरपालिकाभित्र पर्ने यस क्षेत्रमा हाल पनि संरक्षण तथा प्रवर्धनका काम निरन्तर भइरहेको छ।

पर्यटकको सुविधा लक्षित गर्दै शान्तिबाटिका पार्क निर्माण, सिमसार क्षेत्रसम्म पुग्ने बाटोमा जाली लगाउने, पार्क क्षेत्रमा चाइनिज दुबो रोप्ने काम तीव्र गतिमा अघि बढिरहेको छ। यस क्षेत्रका संघीय पूर्वसांसद प्रदीप गिरीको आर्थिक सहयोगमा खानेपानी सुविधा समेत विस्तार गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।

प्राकृतिक सौन्दर्य, शान्त वातावरण र जैविक विविधताले भरिपूर्ण हात्ती दह अहिले सिरहाकै एक प्रमुख पिकनिक स्पट र इको–टुरिजम केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

 

विशेष गरी बिदा, चाडपर्व तथा विद्यालय–कलेजका समूह भ्रमणका क्रममा हातिदह रोजाइमा पर्न थालेको देखिन्छ। स्थानीय तह र सरोकारवाला निकायले आवश्यक पूर्वाधार, सरसफाइ तथा सुरक्षा व्यवस्थामा ध्यान दिन सकेमा हातिदहलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार :