बरियारपट्टी छोटी भन्सार स्तरोन्नतीको मागसहित अर्थमन्त्रीलाई ज्ञापन–पत्र
सिरहा । बरियारपट्टी गाउँपालिकास्थित छोटी भन्सारको स्तरोन्नती गर्न माग गर्दै बजार समिति तथा जेन–जि (Gen Z) प्रतिनिधिहरूले माननीय अर्थमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन्।
लहानमा आयोजित कार्यक्रममा बरियारपट्टी बजार समितिका अध्यक्ष अम्बे यादव, युवा नेता जितेन्द्र यादव र सुखीपुर उद्योग वाणिज्य संघका सचिव संजय यादवले संयुक्त रूपमा ज्ञापन–पत्र बुझाउँदै भन्सार स्तरोन्नती गरिदिन अर्थमन्त्रीसँग विनम्र अनुरोध गरे।
त्यसैगरी, जेन–जि मधेस प्रदेश संयोजक शिव यादव र औरही गाउँपालिका जेन–जि संयोजक सन्तोष यादवले पनि ज्ञापन–पत्र बुझाउँदै बरियारपट्टी छोटी भन्सारलाई स्तरोन्नती गर्न आग्रह गरेका छन्।
कार्यक्रममा सहभागीहरूले बरियारपट्टी छोटी भन्सार स्तरोन्नती भई चारपांग्रे सवारीसाधनको आवतजावत खुला भएमा यस क्षेत्रको व्यापार, आवागमन तथा समग्र आर्थिक गतिविधिमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
स्थानीयवासी र सरोकारवालाहरूले बरियारपट्टी छोटी भन्सार छिट्टै स्तरोन्नती हुने आशा व्यक्त गरेका छन्।


