सुर्खेत । लामो र गौरवशाली राजनीतिक इतिहास बोकेको नेकपा एमाले पार्टीको केन्द्रीय अर्थात् राष्ट्रिय राजनीतिमा पहिलो पटक कर्णाली क्षेत्रले ‘इन्ट्री’ पाएको छ । बिहीबार सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा कर्णालीका प्रभावशाली नेता यामलाल कँडेल निर्वाचित भएका छन् ।
१०औँ महाधिवेशनसम्म आइपुग्दा एमालेको राष्ट्रिय राजनीतिमा अन्य प्रदेशको उपस्थिति बलियो बनिसक्दा पनि कर्णाली भने सधैँ उपेक्षित नै थियो । १०औँ महाधिवेशनमा पनि कँडेलले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्तिम समयमा केपी ओलीको लिस्टमा उनी नपरेपछि सिंगो कर्णाली रित्तो हात फर्किएको थियो ।
‘एमालेभित्रको लामो राजनीतिक इतिहासमा पहिलो पटक कर्णालीले उचित स्थान पायो,’ एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले भने, ‘अर्कोतर्फ एमालेको राष्ट्रिय राजनीतिमा जाने पहिलो नेता यामलाल कँडेल बन्नुभयो, यो आफैमा निकै गर्वको कुरा हो ।’
स्मरण रहोस्, कर्णालीले ११औँ महाधिवेशन हुनुअघिसम्म कर्णालीले केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यसम्म मात्रै पाएको थियो ।
को हुन् यामलाल कँडेल ?
एमालेका अत्यन्तै प्रभावशाली नेता हुन् यामलाल कँडेल ।
कँडेल एमालेभित्र सच्चा कम्युनिस्ट आचरण भएका नेताका रूपमा चिनिन्छन् ।
२०१८ कात्तिक २५ गते दैलेखको साविक सेरी गाविसमा जन्मिएका कँडेलको परिवार पछि वीरेन्द्रनगर झर्यो । अहिले वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान निवासी कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा छन् ।
उनका तीन छोरी छन् । मनिराम कँडेल र भागिरथि कँडेलका छोरा यामलाल जनतामाझ निकै लोकप्रिय छन् ।
२०३६ सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका उनी सोही वर्ष सुर्खेतको दशरथपुरमा भएको चर्चित किसान आन्दोलनमा सहभागी भए । उक्त आन्दोलनमा ४ जनाले सहादत प्राप्त गरेका थिए । उनी त्यतिबेला शिखर मावि दशरथपुरमा शिक्षण पेसामा संलग्न थिए ।
पछि २०४० सालमा काठमाडौँस्थित शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार बनेका उनी नेविसंघका तत्कालीन उम्मेदवार हृदयराम थानीसँग पराजित भएका थिए । राजनीतिक संघर्षपूर्ण यात्राकै क्रममा २०४२/०४३ सालमा कँडेलले ९ महिना बन्दी जीवनसमेत बिताउनुपरेको थियो ।
२०४० देखि २०४६ सम्म पार्टीको काठमाडौँ उपत्यकाको विद्यार्थी कमिटीमा क्रियाशील भएका कँडेल २०४९ सालमा सुर्खेत जिल्ला नेकपा (एमाले) को प्रथम अधिवेशनबाट सचिव बने । २०४९ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका उनले मेयर पदबाट राजीनामा दिई २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेसका हृदयराम थानीसँग कडा प्रतिस्पर्धा गरे ।
पार्टी संगठनमा पनि उनले आफूलाई विकास गर्दै लगिरहेका थिए । कँडेल बिस्तारै सुर्खेतको राजनीतिमा हाबी हुँदै गए ।
२०५१ सालमा एमालेको भेरी अञ्चल सचिव हुँदै उनी २०५४ सालमा एमाले विभाजन हुँदा वामदेव गौतम नेतृत्वको नेकपा मालेमा सामेल भए । त्यही बेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका कँडेल संसदीय र पार्टी दुवै राजनीतिमा अब्बल बन्दै गए ।
२०५६ को संसदीय निर्वाचनमा मालेको तर्फबाट उम्मेदवार बनेका उनी सुर्खेत–२ बाट कांग्रेसका थानीसँगै पराजित भए । उनी २०६४ सालमा एमालेको तर्फबाट सुर्खेत–२ बाट संविधान सभा सदस्यमा निर्वाचित भए । २०७० मा पनि सोही क्षेत्रबाट लडेका उनी कांग्रेसका हृदयराम थानीसँग पराजित भए । त्यो बेला एमालेकै शिव उपाध्याय बागी उम्मेदवार बनेपछि उनलाई राजनीतिक घाटा लागेको थियो ।

पार्टीभित्रको ‘अन्तर्घात’का कारण पराजित भएका उनी देशमा संघीयता लागु भएपछि प्रदेशमा चुनाव लड्न थाले । केन्द्रीय राजनीतिमै स्थापित भइसकेका कँडेल प्रदेश बनाउनुपर्छ भनेर प्रदेश सभामा झरेका थिए । कँडेलले कर्णाली प्रदेश स्थापनार्थ अतुलनीय योगदान दिएका छन् ।
पार्टीभित्र उनी एमाले केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको १०औँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य थिए । एमाले कर्णालीको इन्चार्जसमेत रहिसकेका उनले हाल स्थायी कमिटी सदस्य र दैलेख इन्चार्जको जिम्मेवारी निभाएका थिए ।
एमाले र माओवादी एकताबाट बनेको नेकपाकालमा कर्णाली प्रदेशको सहइन्चार्ज, स्थायी कमिटी सदस्य थिए कँडेल ।
अहिले पनि उनी एमाले कर्णालीको राजनीतिका शक्तिशाली पात्र हुन् । ११औँ महाधिवेशनको प्रतिनिधि छनोटकै क्रममा ८० प्रतिशतभन्दा बढी प्रतिनिधि उनकै टिमका थिए । कर्णालीमा उनीसँग गोरख बोगटीलाई आन्तरिक प्रतिस्पर्धीका रूपमा हेरिन्छ । यद्यपि बोगटीले आफ्नै टिम मजबुत बनाउन नसकेको आरोप लाग्ने गर्छ ।
कँडेलसँग भारत, चीन, अमेरिका, फ्रान्स, क्यानडा र बेलायत जस्ता देश भ्रमण गरेको अनुभव छ ।
ओलीसँगको सम्बन्ध सुधारको परिणाम
एमालेका एक नेताका अनुसार यो पटक कर्णालीले राष्ट्रिय राजनीतिमा स्थान पाउनुका पछाडि अध्यक्ष केपी ओलीसँगको सुधारात्मक एवम् सुमधुर सम्बन्ध भएको व्याख्या गर्छन् ।
उनी प्रायः नेताकहाँ धाइरहने, नेतृत्वले जे गर्दा पनि चाकरी वा गुनगान गाइरहने स्वभावका छैनन् । जसका कारण पनि उनी पार्टी केन्द्रका नेताहरूको उपेक्षामा पर्ने गरेको चर्चा कर्णालीमा यसअघि प्रशस्तै हुन्थ्यो । कतिपयले कर्णाली उपेक्षामा पर्नुका पछाडि कँडेल–ओली सम्बन्ध सुमधुर बन्न नसक्नुलाई पनि अर्थ्याउने गर्थे ।
२०७४ देखि नै प्रदेशको नेतृत्व गर्ने भन्दै प्रदेश झरेका कँडेल प्रदेश सभामा २० सिट हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसरबाट वञ्चित हुनुपर्यो । त्यसयता कँडेलले मुख्यमन्त्री बन्न पटक–पटक विद्रोह गरे, तर पार्टी केन्द्र (ओली) को असहयोगका कारण उनी मुख्यमन्त्री बन्न सकेनन् ।
२०७९ मा पनि उनी प्रदेशमै बसे । उनले २०७९ को चुनावताका सरकारको नेतृत्व गर्नेगरी अघि बढ्ने भनेर चुनावी घोषणापत्रमै राखे । त्यो बेला पनि पार्टी केन्द्रले अरू प्रदेश रोज्यो भने कर्णालीमा माओवादीलाई सघाउने पक्षमा उभियो ।
स्वयं कँडेलले यसअघि पार्टी केन्द्रको असहयोगका कारण नै सरकारको नेतृत्व पाउनबाट एमाले चुकिरहेको बताएका थिए ।
कँडेल भन्थे, ‘मैले पार्टीभित्र बहस गरिरहेकै छु, त्यसोभन्दा लिडरहरूलाई कहिलेकाहीँ लाग्नुपर्ने हो– ए, यसले त यसो भनिरहेको छ । तर कतिपय हाम्रै भित्रकाहरूले फलानाको विरोधीका अर्थमा बुझ्ने, आफू राम्रो, बाँकी नराम्रो हुने तरिका भयो । दलले नै सरकारको नेतृत्व गर्ने भएका हुनाले सोच्नुपर्ने हो, हाम्रै दलबाट भएन ।’
ओलीका कतिपय गतिविधिलाई कँडेलले समर्थन गर्दैनथे । एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनमा कँडेलले ओलीको चाहना र निर्देशनविपरीत गुलाबजंग शाह पक्षधर टिमलाई नै निर्वाचित गराउन सफल भएका थिए । जबकि ओलीले सर्वसम्मत तरिकाले अघि बढ्न भनेका थिए ।
ओलीले ‘सिग्नल’ दिएका नेताहरू पराजित भए । त्यसलगत्तै ओली मध्यपश्चिम विश्वविद्यालयको एक कार्यक्रममा आएका थिए । त्यो बेला ओली–कँडेलबिच भनाभन र चर्काचर्की नै परेको थियो । कँडेलले ‘तल प्रदेश कमिटी पनि आफैले चलाउने हो ?’ भन्दै ओलीलाई प्रतिप्रश्न गरेको कुरा बाहिर आएको थियो । त्यसपछि ओलीसहितको प्रदेश कमिटीको बस्ने भनिएको बैठक नै बस्न सकेको थिएन । काठमाडौँ पुगेपछि ओलीले कर्णालीमा समस्या देखिएको भन्दै २०८० माघमा कर्णालीका नेताहरूलाई पार्टी ‘हेडक्वाटर’मै बोलाएर छलफल गरेका थिए ।

ओलीले भनेका थिए, ‘पोलिटब्युरो सदस्यले तल (प्रदेश अध्यक्ष बन्नेगरी) झर्नु हुँदैन भनेको थिएँ । लक्ष्मी पोखरेल, मोहन बानियाँ र भैरवसुन्दर श्रेष्ठले भेट्न आएर हामीमध्ये एक जनाले नेतृत्व गर्छौं भन्दा मैले हुन्न भनेको हो ।’ आफ्नो निर्देशनविपरीत कर्णालीमा निर्णय लिइएको ओलीले भनेका थिए ।
‘केपी ओलीलाई देखाइदिने भनेर लाग्नुभयो, साथीहरूले बिर्सनुभएन म पार्टीको अध्यक्ष हो । संसदीय दलको नेता हो,’ ओलीले यामलालतर्फ संकेत गर्दै भनेका थिए । ओलीको चाहनाविपरीत पोलिटब्युरो सदस्य गुलाबजंग शाहलाई कँडेलले प्रदेश अध्यक्ष बनाएर देखाइदिएका थिए । त्यो बेला कँडेल–ओलीबिच पानी बराबर रहेको चर्चा कर्णालीमा हुन्थ्यो । कँडेल विरुद्धको पक्षले पनि यही कुरा बाहिर चर्चामा ल्याउँथ्यो ।
२०८० चैतमा मुख्यमन्त्री बनेदेखि भने कँडेल र ओलीबिचको सम्बन्धमा उल्लेखनीय सुधार भएको बताइन्छ ।
कँडेल मुख्यमन्त्री बनेपछि सुशासनका विषयमा केही राम्रा कामहरू सुरु गरेका छन् । जसको ओलीले मात्र होइन, महासचिव शंकर पोखरेलले पनि सार्वजनिक रूपमै प्रशंसा गर्ने गरेका थिए । पछिल्लो पटक ओली सुर्खेत आउँदा पनि कँडेलसँग छलफल गर्ने गरेका थिए, जसको सुखद् परिणाम यो पटकको महाधिवेशनमा ओली प्यानलमा कँडेल पर्न सफल भएको विश्लेषण एमालेका अर्का एक नेताको छ ।


