सिरहा। आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख डिआइजी कृष्ण ढकालले मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण, सिरहामा निर्माण गरिएको नव–निर्मित ब्यारेक भवनको उद्घाटन गर्दै डिआइजी ढकालले वर्तमान सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गरे। उनले आगामी दिनमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीप्रति सजग र सचेत रहनुपर्नेमा जोड दिए।
जेन–जी आन्दोलनपछिको संवेदनशील समयमा सशस्त्र प्रहरीको काँधमा थप जिम्मेवारी आएको बताउँदै डिआइजी ढकालले शान्ति–सुरक्षा कायम गर्दै निर्वाचनलाई लक्षित गरी उच्च सतर्कताका साथ तयारीमा रहन निर्देशन दिए। सीमासुरक्षा मुख्य प्राथमिकता भएको उल्लेख गर्दै उनले अवैध आवतजावत, लागुऔषध कारोबार, मानव तस्करी तथा चोरी–तस्करी नियन्त्रणमा थप सक्रियता देखाउन आग्रह गरे।
सीमित स्रोत–साधनका बाबजुद पनि राज्यले दिएको जिम्मेवारी पूरा गर्न सुरक्षा निकाय सधैं तत्पर र सक्रिय हुनुपर्ने उनको भनाइ थियो। जेन–जी आन्दोलनका बेला जस्तै सुरक्षा निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले अब ‘ड्रेस छुट्याएर’ हेर्ने अवस्था नरहेको बताए। “हामी सबै एउटै सुरक्षाकर्मी हौं, हातेमालो गरेर अघि बढ्नुपर्छ,” उनले भने, “सुरक्षा प्रदानमा कुनै कसर बाँकी राख्नु हुँदैन।”
जनताले तिरेको करबाट सुविधासम्पन्न भवन निर्माण भएकाले अब थप जिम्मेवारीबोधका साथ शान्ति–सुरक्षा कायम राख्न सशस्त्र प्रहरीले प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए।
यसै अवसरमा सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले नवराजपुरमा सशस्त्र प्रहरी बलको बिओपी तथा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण, सिरहामा ब्यारेक भवन निर्माण कार्यको उद्घाटन गरिएको जानकारी दिए। उनका अनुसार उक्त ब्यारेक भवन ६१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

सम्वन्धित समाचार :