जिज्ञासुपना र कल्पनाशीलता मानवजातिको विकाससँगै आदिम समयदेखिकै मानवीय गुण थियो । प्राकृतिक उत्पादनमा निर्भर प्राकृतिक अथवा आदिम साम्यवादी युगबाट मानवीय उत्पादनको युगमा सङ्क्रमण सँगसँगै मानव जातिले भाषा, धारणा, दृष्टिकोण र दर्शनको विकास गर्न पुग्यो । मानव जातिले उत्पादनको लागि गरेको सङ्घर्ष, हजारौँ वर्षसम्मको प्रकृतिसँगको सहवरणको अनुभव र वर्गहरूको उदयसँगै युग सापेक्ष वर्ग सङ्घर्षको अनुभवजस्ता वस्तुगत कारण एवं जिज्ञासुपना, स्मरण क्षमता, कल्पनाशीलता र तर्क क्षमताजस्ता आत्मगत कारणको योग थियो, ‘दर्शनको जन्म’ ।

कुनै पनि दर्शन एकजना महान् व्यक्ति वा दार्शनिकको गिदीबाट चामत्कारिक रूपमा जन्मने विषय होइन । बरु मानवजातिले गरिरहेको उत्पादनको लागि सङ्घर्ष, वर्गसङ्घर्ष र प्रकृतिसँगको सहकार्यको युगसापेक्ष संश्लेषण हो । यसर्थ, हरेक दर्शनको जन्म युगसापेक्ष हुन्छ । र त्यो दर्शनको विकास, आयु र अन्त्य पनि ।

त्यसो हुँदा झन्डै २०० वर्ष उमेर पुग्न लागेको मार्क्सवादको उमेर कति भयो ? या केही पुँजीवादी चिन्तकहरूले भनेजस्तै इतिहासका कैयौँ दर्शनजस्तै मार्क्सवादको पनि आयु सकियो ? या प्रस्तुत लेखकको शीर्षकजस्तै मार्क्सवाद भर्खर किशोरावस्था या टिन एजरमा प्रवेश गरिरहेको छ ? आजको विज्ञान प्रविधिको उत्कर्षयुक्त युगमा कसरी मार्क्सवाद बल्ल तन्नेरी बन्दैछ ? प्रस्तुत आलेख दर्शनको परिचय र आजको सन्दर्भमा मार्क्सवादमा नै केन्द्रित छ ।

दर्शनः परिभाषा र परिचय
दर्शनको शाब्दिक अर्थ हेर्नु हो । वस्तुगत जगत, मानव समाज र मानवीय चिन्तन प्रक्रियालाई हेर्ने दृष्टि दर्शन हो । अङ्ग्रेजीमा philosophy ग्रीक भाषाको philo र sophia मिलेर बन्यो । philo अर्थात् प्रेम र sophia अर्थात् ज्ञान मिलेर दर्शनलाई ज्ञानको प्रेमको रूपमा व्याख्या गरियो । मानव जातिसँग अज्ञानता र रहस्य घनीभूत थियो । त्यसकारण प्रारम्भकालमा नै दर्शनले त्यस्तो मूल सत्ताको खोजी गर्न पुग्यो कि जसबाट सिङ्गै प्रकृति र मानवजातिको बारेमा जान्न र व्याख्या गर्न सकियोस् ।
आफ्नो – आफ्नो समाजको विकासको सापेक्षतामा समय तलमाथि भएपनि पूर्वीय दर्शन, युनानी दर्शन र चिनीयाँ दर्शन सबैमा तत्व, सङ्ख्या र परमाणुलाई अन्तिम सत्ता मानेर प्रकृति र मानवजातिको व्याख्या, विश्लेषण गर्न थालियो । कन्फ्युसियस, थेलिज, पिथागोरस, डेमोक्रिटस्, कनाद, लाओत्से, बृहस्पति लगायत सबै दार्शनिक र दर्शनले त्यही मेहनत गरे । सँगसँगै अध्यात्मवाद अथवा ईश्वरवादले ईश्वरलाई त्यस्तो मूल सत्ताको रूपमा व्याख्या गर्‍यो जसबाट प्रकृति र मानवजातिको जन्म र विकास भएको मान्न थाल्यो ।

मानव जातिले आधुनिक ७० हजार वर्षमध्ये झन्डै ६५ हजार वर्ष त भौतिकवादी भएरै बिताए । तथापि त्यतिबेला भौतिकवादी बौद्धिकता या सैद्धान्तिकता संश्लेषित भने थिएन । मानवीय व्यवहार र प्रयोगमै सीमित थियो । पछि अध्यात्मवाद अथवा ईश्वरवादको आगमनपछि अध्यात्मिक दर्शनले ईश्वरलाई मूल सत्ता मान्यो । जेहोस् संसारका सबै दर्शन र दार्शनिकले त्यस्तो मूल सत्ताको खोजी गर्न प्रयत्न गरे जसबाट प्रकृति र मानवजातिको व्याख्या गर्न सकियोस् । यसर्थ, दर्शन भनेको त्यस्तो मूल सत्ता अथवा सत्यको खोजी हो जसबाट प्रकृति, मानवजाति र सम्पूर्ण प्राणी अर्थात् संसारको व्याख्या गर्न सकियोस् ।

दर्शनको सङ्क्षेपीकरण 

संसारका सबै दर्शनहरूलाई हामी मूलतः तीनवटा आँखाबाट हेर्न सक्छौँ । पहिलो, सत्ता संरचनाको आँखा । सत्ता संरचनाको आँखाबाट दर्शनलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एक, आदर्शवाद, प्रत्ययवाद अथवा अध्यात्मवाद र दुई भौतिकवाद । चेतना (आत्मा)लाई मूल सत्ता संरचना मान्ने दर्शन आदर्शवाद हो भने पदार्थलाई मूल सत्ता संरचना मान्ने दर्शन भौतिकवाद ।

दोस्रो सत्ता सङ्ख्याको आँखा । सत्ता सङ्ख्याको आँखाबाट दर्शन तीन भागमा विभाजित छ । एक, अद्वैतवाद, दुई, द्वैतवाद र तीन, बहुलवाद । पदार्थ र चेतनामध्ये एउटा सत्ता संरचनालाई मान्ने दर्शन अद्वैतवाद हो । दुवै वा दुई सत्ता संरचनालाई मान्ने दर्शन द्वैतवाद । र दुईभन्दा बढी सत्ता संरचनालाई मान्ने दर्शन बहुलवाद हो ।

11

र तेस्रो अध्ययन विधिको आँखा । जसलाई अधिभूतवादी र द्वन्द्ववादी दुई भागमा विभाजन गर्न सकिन्छ । प्रकृति, मानव समाज र प्राणीलाई स्थिर मानेर अध्ययन गर्ने दर्शन अधिभूतवादी दर्शन हो भने प्रकृति, मानव जाति र प्राणीलाई गतियोग्य मानेर अध्ययन गर्ने दर्शन द्वन्द्ववादी हो ।

मार्क्सवादको जन्म: ऐतिहासिक आँखीझ्याल

भौतिक तत्त्व वा पदार्थलाई मूल सत्ता संरचना मान्ने, अद्वैतवादी र द्वन्द्ववादी दर्शन हो, मार्क्सवाद । यसले प्रकृति, मानवजाति र प्राणीलाई गतियोग्य अथवा परिवर्तनीय भनेर व्याख्या गर्‍यो । मार्क्सवादको आगमनअघि दर्शनको काम संसारको व्याख्यामा सीमित थियो । तर मार्क्सवादले दर्शनको काम संसारको व्याख्या मात्र गर्नु होइन, मुख्य कुरा त संसारलाई बदल्नु हो भन्यो । मार्क्सवादपछि नै मानवजातिले आफ्नो मुक्तिको वैज्ञानिक वैचारिकी वा दार्शनिकी फेला पार्‍यो ।

द्वन्द्वात्मक भौतिकवादको आँखीझ्याल

द्वन्द्ववादको प्रयोग प्राचीनकालदेखि नै गरिएपनि हेगेलले द्वन्द्ववादलाई दार्शनिक स्वरूपमा ढाले । मार्क्सले आनो द्वन्द्वात्मक भौतिकवादमा हेगेलकै द्वन्द्ववादलाई स्रोतको रूपमा लिए । पदार्थलाई वस्तुगत जगतको आधार मान्नु र वस्तुगत जगतलाई गतियोग्य मान्नु द्वन्द्वात्मक भौतिकवादको मुख्य सिद्धान्त हो । यसले मानव समाज अथवा वस्तुगत जगतलाई परिवर्तनीय भनिदियो । र त्यस परिवर्तनको प्रक्रियाको नियमको रूपमा मात्राबाट गुण, प्रतिपक्षीको एकता र सङ्घर्ष र निषेधको निषेध नियमलाई अगाडि ल्यायो ।

ऐतिहासिक भौतिकवादको आँखीझ्याल

द्वन्द्वात्मक भौतिकवाद अर्थात् परिवर्तन वा गतिको सिद्धान्त, विकासको सिद्धान्त र अन्तरसम्बन्धका सिद्धान्तलाई मानव समाजमा फिट गर्नु ऐतिहासिक भौतिकवाद हो । यसको मतलब, एक, संसार र मानव समाज परिवर्तनीय छ । संसारलाई वा मानव समाजलाई परिवर्तन गर्न सकिन्छ । दुई, यो परिवर्तन निम्नबाट उच्च, विशिष्टबाट सामान्य, अपूर्णबाट पूर्ण, सरलबाट जटिल, जडबाट चेतनको विकासक्रममा विकसित हुन्छ । र तीन, संसारका सबै पदार्थ अन्तरसम्बन्धित छन् भन्नु हो । मानव समाजको आधार संरचना उत्पादक शक्ति हो । उत्पादक शक्तिको अनुरूपतामा उत्पादन सम्बन्ध रहन्छ । साथै उत्पादन सम्बन्ध उत्पादक शक्तिमा निर्भर रहन्छ । सामाजिक व्यवस्थाको परिवर्तन भनेको पहिला उत्पादक शक्तिको परिवर्तन र त्यसले उत्पादन सम्बन्धमा ल्याउने परिवर्तन हो ।

ऐतिहासिक भौतिकवादको यो वैज्ञानिक दृष्टिले समाज, राष्ट्र, मानवजाति र यसको विकासको शृङ्खलालाई छर्लङ्ग हेर्न सक्ने दृष्टिकोण दिन सम्भव भयो ।

मार्क्सवादी वृत्तका केही विभ्रम : पदार्थ प्रधान कि चेतना ?

जब दर्शनको बहस चल्छ, तब दुईवटा शब्दलाई कुस्ती खेलाइन्छ । पहिला चेतना कि पदार्थ ? अथवा चेतना प्रधान कि पदार्थ ? यो बहसमा अध्यात्मवादी (ईश्वरवादी)ले मानव परिकल्पनाकै उपजको ईश्वरीय चेतनालाई पहिलो र प्रधान भनेर व्याख्या गर्छन् । यता भौतिकवादी भने पदार्थलाई प्रधान अथवा पहिलो । लेनिनले हाम्रो चेतनाभन्दा बाहिर स्वतन्त्र रूपमा अस्तित्वमा रहेको वस्तुलाई पदार्थ भनेका छन् । एङ्गेल्सले पदार्थ र गतिलाई एकअर्काको परिपूरक बनाएका छन् । मार्क्सवादले मानव चेतनालाई पदार्थबाट अलग्याएर कुनै अद्भुत चिजको रूपमा चेतनालाई परिभाषित गरेको थिएन । तर, पदार्थ र चेतनाको कुस्तीमा पदार्थतिर लागिरहँदा नेपाली मार्क्सवादीले बेलाबेला चेतना के हो त भन्ने प्रश्न नै भुलेको पाइन्छ ।

वास्तवमा पदार्थका मूल दुई स्वरूपमध्ये एउटा वस्तु(जड) र अर्को चेतना हो । चेतना आफैँमा पदार्थ हो । चेतना वस्तुको प्रतिबिम्ब पनि हो । स्मरण, कल्पनाशीलता र तर्कजन्य गुण भएको कारण मानव चेतनाको आयाम अलि फराकिलो भएको मात्रै हो ।

त्यसकारण काल्पनिक ईश्वरीय चेतनालाई अस्त्र बनाएर दर्शनको बहसमा पक्षधरता लिने अध्यात्मवादीको अतिलाई छोडेर मानव चेतनालाई पनि पदार्थभन्दा पर र फरकरुपमा बुझ्नु वा प्रशिक्षित गर्नु गलत हुन जान्छ ।

सापेक्षतावाद र क्वान्टम विज्ञानपछि त चेतना र पदार्थको स्वरुपको बहसले उत्तर पाइसकेको छ । विज्ञानले द्रव्य र शक्ति दुवैलाई पदार्थको रूप भनेर प्रमाणित गरेको छ । त्यसकारण दर्शनले भन्ने चेतना र जड पनि पदार्थका दुई रूप भएका छन् । अर्थात् जड(वस्तु) र चेतना दुवै पदार्थ हुन् । या पदार्थका दुईवटा स्वरूप हुन् ।

परिवर्तनशील कि परिवर्तनीय ?

अध्यात्मवादीले त संसारलाई परिवर्तनशील छ भन्दैनन्, बरु यसलाई जानिसाध्य छैन भन्छन् । हामीले केही पनि फेर्न, बदल्न सक्दैनौँ । संसार स्थिर छ भन्छन् । तर मार्क्सवादीले पनि संसार आफैँ परिवर्तन हुने जसरी संसार परिवर्तनशील छ भनेर भन्दै आए । र प्रकृतिमा भएको परिवर्तनलाई आफैँ भइरहने परिवर्तनको रूपमा व्याख्या गरिदिए । पदार्थ र ऊर्जाको संयोजनमा मात्र परिवर्तन वा गति पैदा हुन्छ । त्यो गति भौतिक गति, रासायनिक गति, जैविक गति र सामाजिक गतिको रूपमा देखापर्छ । गतिका यिनै आयाम प्रकृतिमा देखा परेर नै संसारमा परिवर्तन देखिएको हो ।

यसकारण संसार परिवर्तनशील छ भन्नु भन्दा परिवर्तनीय छ भन्नु वाञ्छनीय हुन्छ । जसरी पदार्थमा ऊर्जा मिसिएन भने गति पैदा हुन्न, ठिक त्यस्तै समाजमा पनि सामाजिक उत्पादन प्रणाली र सङ्घर्षले मात्र समाज परिवर्तन हुने हो । संसार परिवर्तनशील छ भनेपछि त यसलाई किन परिवर्तन गरिरहन पर्‍यो, संसार आफैँ परिवर्तन हुन्छ नि भन्ने अर्थ लाग्छ । तर संसार परिवर्तनीय छ भनेपछि हामी परिवर्तन गर्न लागि परेनौँ भने संसार परिवर्तन हुन्न भन्ने बुझाइ हुन्छ ।

त्यसकारण स्थिरताको सापेक्षमा गतिलाई बुझ्नु ठिक हुन्छ । यदि गति छ भने स्थिरता पनि छ अथवा अति धिमा गति पनि छ । यदि ऊर्जा छ भने ऊर्जा पनि सापेक्ष छ । पदार्थ र ऊर्जाको संयोजनबाट गति बन्छ भने समाजमा पनि समाज र समाजको सचेत प्रयत्नबाट मात्रै परिवर्तन हुन्छ ।

आन्तरिक कि बाह्य ?

मार्क्सवादले कुनैपनि चिज वा वस्तुको विकास र विनाशमा प्रायः प्रधान कारण आन्तरिक हुन् भन्यो । तर, निरपेक्ष प्रधान कारण आन्तरिक हुन्छ भनेको होइन । हामीकहाँ भने हरेक घटना, व्यक्ति, समाज र वस्तुको विकास र विनासको मुख्य कारण आन्तरिक भन्ने भाष्य फैलियो । र, कुनै घटना, व्यक्ति, समाज र वस्तुको विकास र विनाशमा मुख्यगरी आन्तरिक कारणमात्र खोतल्ने काम भयो । कैयौँ बाह्य कारणको प्रधानताले पनि वस्तुको विकास र विनाश निर्भर हुन्छ भन्ने तथ्यलाई इन्कार गरियो । द्वन्द्ववादको सामान्य नियम अझ द्वन्द्वात्मक भौतिकवादको नियमभन्दा धेरै पर पुगेर हामीले क्रान्ति र समाजवादको पतनका आन्तरिक ऐतिहासिक कारणमात्र खोज्न थाल्यौँ । जबकि आन्तरिक कारण मुख्य हुन् भन्नुको तात्पर्य बाह्य कारण गौण हुन् भनेको होइन । र बाह्य कारण प्रधान कहिल्यै हुनै सक्दैन भनेको पनि होइन ।

किन टीनएजर भयो मार्क्सवाद ?

समाजवादी सत्ताको पतन खासगरी रुस र चीनको समाजवादको अन्त्यसँगै पुँजीवादका अनुयायीले लगातार एउटा हौवा पिटिरहे कि अब मार्क्सवादको पनि अन्त्य भयो । मार्क्सवाद पुरानो भयो, मार्क्सवादको औचित्य समाप्त भयो, यस्तै यस्तै । पहिलो कुरा त पुँजीवादको जन्म भएको झन्डै ५०० वर्ष भयो, मार्क्सवाद २०० वर्ष पनि पुगिसकेको छैन । दोस्रो कुरा, पुँजीवाद जो आज भूमण्डलीकृत पुँजीवादको रूपमा विकसित भएको छ, यसको विकासको नजिर दिएर मार्क्सवादको अन्त्य भएको तर्क गरिन्छ । एक त आजको भूमण्डलीकृत पुँजीवाद वा पुँजीवाद संसार लुटेर टिकेको हो । फ्रान्स, जर्मन र बेलायतकालीन साम्राज्यवाद होस् या अमेरिकी साम्राज्यवाद होस् अथवा यसको विकसित स्वरूप आजको भूमण्डलीकृत पुँजीवाद होस् । कमजोर राष्ट्रमाथि मानव नरसंहारको कीर्तिमान कायम गरेर, कमजोर राष्ट्रको प्राकृतिक स्रोतमाथि कब्जा गरेर या लुटतन्त्र चलाएर आजको पुँजीवाद टिकिरहेको हो । यदि आजको पुँजीवादलाई सफल मान्ने हो भने सदियौँदेखि पुँजीवादले गर्दै आएको नृशंस नरसंहार र लुटलाई पनि सही वा जायज मान्नुपर्ने हुन्छ । तर, समाजवादी सत्ता जति समय टिके, लुट र हत्यामा होइन, उत्पादन र आत्मनिर्भरताको आडमा टिके । यद्यपि समाजवादको प्रयोगमा गम्भीर त्रुटि छँदै थिए ।

मार्क्सवादको उदयसँगै आएको वैज्ञानिक समाजवादी सामाजिक व्यवस्था, वर्ग सङ्घर्षको सिद्धान्त, द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त, क्रान्तिकारी शक्तिको रूपमा परिभाषित गरिएको सर्वहारा वर्गको अवधारणा र साम्यवादसम्मको लक्ष्यको औचित्य सबै समाप्त भएको तर्कसमेत मार्क्सवाद विरोधीले पेस गर्दै आएका छन् । आजको युगमा मार्क्सवाद साँच्चै मक्किएको हो ? या मार्क्सवाद बल्ल यौवनावस्थामा छ ? वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्य या आवश्यकता अबको युगमा छ कि छैन ? मार्क्सवादभन्दा अझ वैज्ञानिक विश्व दृष्टिकोण अरु कुनै छ त ? हामी निम्न यथार्थका आधारमा स्पष्ट भन्न सक्छौँ – मार्क्सवाद बल्ल टिनएजर अर्थात् यौवनावस्थामा पुग्दैछ ।

मुख्य उत्पादक शक्तिः विज्ञान प्रविधि 

मार्क्सवादले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद तीनवटै क्षेत्रमा ऐतिहासिक संश्लेषण गर्‍यो । त्यसमध्ये एउटा महत्वपूर्ण विषय हो – उत्पादक शक्ति । उत्पादक शक्ति भनेको उत्पादन प्रणालीमा भूमिका खेल्ने हरेक शक्ति उत्पादक शक्ति हुन् । जस्तो जमिन, पुँजी, प्रविधि, मानव श्रम आदि । कुनै पनि सामाजिक व्यवस्थाको परिवर्तन उत्पादक शक्तिको परिवर्तनपछि मात्र सम्भव छ । प्रकृति उत्पादक शक्ति भएको आदिम साम्यवादलाई सामूहिक मानव श्रम उत्पादक शक्ति भएको दास युगले विस्थापित गर्‍यो । सामूहिक मानव श्रम (दासको श्रम) प्रमुख उत्पादक शक्ति भएको दास युगलाई जमिन मुख्य उत्पादक शक्ति भएको सामन्तवादले, जमिन मुख्य उत्पादक शक्ति भएको सामन्तवादलाई पुँजी मुख्य उत्पादक शक्ति भएको पुँजीवादले विस्थापित गर्‍यो । पुरानो उत्पादक शक्तिसँग उत्पादन क्षमता रहेसम्म कुनै सामाजिक व्यवस्थामा अर्थात् उत्पादन सम्बन्धमा परिवर्तन सम्भव छैन । मार्क्सले आनो युगको उत्पादक शक्ति पुँजी, प्रविधि र मानव श्रममध्ये सामूहिक मानव श्रमलाई प्रमुख उत्पादक शक्तिको रूपमा ल्याउन चाहन्थे । र त मानव श्रमलाई श्रम शक्तिको रूपमा परिभाषित गर्थे । रुस र चीनको समाजवादी क्रान्ति पुँजीवादलाई ढाल्दै श्रम शक्तिलाई मुख्य उत्पादक शक्ति बनाउँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न भएको थियो ।

त्यतिबेला पनि श्रम शक्तिलाई प्रमुख उत्पादक शक्ति बनाउन प्रयत्न गर्दा अन्य सहायक उत्पादक शक्ति जस्तो जमिन, प्रविधिलाई प्रयोग गर्ने भन्ने नै थियो । तर मुख्य उत्पादक शक्ति नबदली सामाजिक व्यवस्था बदलिँदैन भन्ने तथ्य ऐतिहासिक भौतिकवादी दृष्टिले सिद्ध गरिदियो ।

रुस र चीनको समाजवादपछि खासगरी दोस्रो विश्वयुद्धपछि मानव श्रम, पुँजी र जमिनलाई कमजोर बनाउँदै नयाँ उत्पादक शक्तिको रूपमा विज्ञान प्रविधि आयो । रुस र चीनको समाजवादले पक्रिन नसकेको एउटा मुख्य विषय भनेकै श्रम शक्तिको आधारमा विकास गर्न खोजिएको समाजवादलाई विज्ञान प्रविधिमा आधारित वैज्ञानिक समाजवादमा रूपान्तरण गर्न नसक्नु हो । नयाँ मुख्य उत्पादक शक्तिको रूपमा आएको विज्ञान प्रविधिलाई प्रयोग गरेर पुँजीवादले भूमण्डलीकरणको स्वरूप लियो भने वैज्ञानिक समाजवादी पतनतिर गए ।

नयाँ र मुख्य उत्पादक शक्तिको रूपमा आएको विज्ञान प्रविधिले प्रचुर उत्पादन, समानता र निजी स्वामित्वको अन्त्यको वैज्ञानिक समाजवादी विशेषता लिएर आयो । किनकी विज्ञान प्रविधिमार्फत् उत्पादन गर्दा छ्यालब्याल उत्पादन हुन सक्ने, छ्यालब्याल उत्पादनको विनिमय, वितरण र उपभोग समान गर्दा समानता हुन सक्ने र जमिन, पुँजी, औजारजस्तो विज्ञान प्रविधि निजी हुन नसक्ने सम्भावनालाई विज्ञान प्रविधि मार्फत् सुनिश्चित गर्न सकिने स्थिति बन्यो ।

त्यसकारण मार्क्सवादले वैज्ञानिक समाजवादभित्र जेजस्ता विशेषताको परिकल्पना गरेको थियो, त्यो विज्ञान प्रविधिको प्रयोगले अति सहज हुने स्थिति पैदा भएको छ । यसकारण प्रचुर अर्थात् छ्यालब्याल उत्पादन गर्ने वैज्ञानिक समाजवादको विशेषता प्रमुख उत्पादक शक्ति विज्ञान प्रविधि हुँदा सम्भव हुने भएको छ । यस अर्थमा मार्क्सवाद बल्ल यौवनावस्थामा छ ।

श्रमको अन्त्य वा न्यूनीकरणको युग 

जब मानवजातिले उत्पादन गर्न थाल्यो तब श्रमको सुरुवात भयो । उत्पादन प्रक्रियामा मानवजातिको प्रयत्न गर्नु अगाडि मानवश्रम थिएन । अर्थात् मानव श्रमविहीन युग पनि हजारौँ वर्ष रह्यो । जब मानव श्रमको सुरुवात भयो, श्रमको सहायताबाट मानिसले आविष्कार र उत्पादनका रेकर्डहरू बनाउन थाले । र आजसम्म पनि संसारको सबैभन्दा सुन्दर मानिस श्रम गरिरहेकै मानिस हो । तर समाजमा मानव श्रम कायम रहिरहँदा विभेदका दुईवटा वस्तुगत कारण जीवित हुने रहेछन् । एक त मानवश्रम सुरु भएपछि नै वर्ग समाज पनि सुरु भएको छ । दोस्रो, श्रम विभाजित गर्दा हरेक श्रमको मूल्य र सौन्दर्य समान भनिएपनि श्रमका कारणले हुने वस्तुगत विभेदको मुहान त बाँकी नै रहने भयो । उदाहरणका लागि कम्प्युटरमा काम गर्नु र सडकमा काम गर्नु निरपेक्ष समान हुन सम्भव थिएन । श्रमजन्य विभेद त रहन्थ्यो नै ।

मुख्य उत्पादक शक्तिको रूपमा आएको विज्ञान प्रविधिले पुँजी, जमिन र श्रमशक्ति तीनवटै कुनै युगको मुख्य उत्पादक शक्तिलाई अति कमजोर बनाउँदै लगेको छ । यसका कारण उत्पादन प्रणालीबाट मानव श्रम (मजदुर)को तीब्रतर विस्थापन भएको छ । एकातिर श्रमशक्तिको उत्पादनमा प्रभाव अति कमजोर भएको छ भने सेवा र निर्माण क्षेत्रमा पनि श्रमशक्ति न्यून रूपमा मात्र वितरित भएको छ ।

त्यसकारण हिजोको सर्वहारा(मजदुर) वर्गको अधिनायकत्ववाला समाजवादको पुनरावृत्ति अब सम्भव छैन । बरु विज्ञान प्रविधिलाई पूर्ण प्रयोग गर्ने अवस्थामा जान आजका वैज्ञानिक समाजवादीले बाटो तय गर्ने हो भने कसैको निजी स्वामित्व बन्न नसक्ने विज्ञान प्रविधिमा आधारित वैज्ञानिक समाजवाद सन्निकट भएको छ । र हिजोको समाजवादमा श्रमका कारणले हुन सक्ने असमानता र विभेद पनि अबको वैज्ञानिक समाजवादमा असम्भव भएको छ ।

यसरी मार्क्सवादले परिकल्पना गरेको निजी स्वामित्वको अन्त्य र समानताको नारा अब सुनिश्चित भएको छ । यसर्थ, मार्क्सवाद बल्ल यौवनावस्थामा पुगेको छ ।

नयाँ सर्वहारा वर्गको रूपमा विस्थापित वर्ग 

हिजोसम्म सबैभन्दा पिँधको वर्गको रूपमा सर्वहारा वर्ग थियो । त्यसकारण सर्वहारा वर्गको अधिनायकत्वको नारा घनिभूत बन्यो । आज उत्पादन प्रणालीबाट श्रमशक्तिको विस्थापनसँगै नयाँ सर्वहारावर्गको उदय भएको छ । त्यो विस्थापित वर्ग हो । मजदुर वर्ग पिँधको वर्ग भएपनि उसको श्रमको ग्यारेन्टी थियो । न्यूनतम पारिश्रमिकको ग्यारेन्टी थियो । एक त संसारभर आजको भूमण्डलीकृत पुँजीवाद विज्ञान प्रविधिमा आधारित उत्पादन प्रणालीको प्रक्रियामा गएकोले श्रमको सुनिश्चितताविहीन विस्थापित वर्ग जन्मेको छ भने हाम्रो जस्तो देशमा सेवा र निर्माणको क्षेत्र पनि कम भएकोले उत्पादन, सेवा र निर्माण सबैतिरबाट विस्थापित वर्ग जन्मेको छ ।

आजको सर्वहारा वर्गको आयाम पनि बदलिएको छ । नियमित श्रमको प्रक्रियामा रहेको सर्वहारा श्रमिक वर्ग । अनियमित श्रमको प्रक्रियामा रहेको सर्वहारा श्रमिक वर्ग । र श्रमको कुनै निश्चित नभएको विस्थापित वर्ग ।

यसकारण आजको पिँधको घनत्वको वर्गको रूपमा विस्थापित वर्ग छ । र, विस्थापित वर्गको व्यापकता झन् तीब्रतर छ । यसले वर्गीय खाडल झन् गहिरो बनाइदिएको छ र वर्ग सङ्घर्षको अपरिहार्यतालाई अझ बढी उजागर गरेको छ । र त मार्क्सवादले निर्दिष्ट गरेको वर्गसङ्घर्षको आवश्यकताले मार्क्सवादलाई यौवनावस्थामा लगेको छ ।

वर्गसङ्घर्षको नयाँ आयाम

हिजो सर्वहारा श्रमिक वर्ग र पुँजीपती वर्गबिचको वर्गसङ्घर्ष मुख्य वर्ग सङ्घर्ष थियो । उत्पादन प्रणालीबाट पुँजीलाई विस्थापन गर्नु र श्रम शक्तिलाई मुख्य बनाउनु त्यति बेलाको वर्ग सङ्घर्षको लक्ष्य थियो । त्यतिबेला पुँजीपति वर्गबाट पुँजी खोस्ने अथवा उत्पादन प्रणालीको आधिपत्यता खोस्ने गरिन्थ्यो । आज विस्थापित (सर्वहारा) वर्ग र भूमण्डलीकृत पुँजीवादबीचको वर्ग सङ्घर्ष मुख्य वर्ग सङ्घर्ष भएको छ । आजको विस्थापित वा सर्वहारा वर्गले भूमण्डलीकृत पुँजीवादले निजी बनाएको विज्ञान प्रविधि खोस्ने र विज्ञान प्रविधिमा आधारित उत्पादन प्रणाली आफैँ निर्माण गर्ने काम वर्ग सङ्घर्षको मुख्य काम भएको छ । यद्यपि जमिन, मेसिन र पुँजीजस्तो विज्ञान प्रविधि पूर्णरुपमा खोस्न मिल्ने या खोस्न सकिने चिज होइन । त्यसकारण आनो व्यवस्थाको निर्माण र विकासको लागि आफैँ विज्ञान प्रविधिको निर्माण र विकास गर्ने कार्यभारसहितको वर्ग सङ्घर्षको नयाँ स्वरुप देखापरेको छ ।

नयाँ भूमण्डलीकृत सामाजिक संरचना

भूमण्डलीकृत पुँजीवादले विज्ञान प्रविधिमार्फत् आनो आधिपत्य कायम गरेको छ । मार्क्सवादीले पनि विज्ञान प्रविधिमार्फत् नै वैज्ञानिक समाजवाद र साम्यवादको भूमण्डलीकृत स्वरुपको प्रारम्भ र विकास गर्न सम्भव भएको छ । हिजो एउटै देशमा क्रान्ति हुन सम्भव छ कि छैन ? वा अन्तर्राष्ट्रिय रूपमा क्रान्ति हुनुपर्छ कि पर्दैन ? भन्ने बहस थियो । आज संसारमा हुने सबै क्रान्तिमा प्रत्यक्ष सहभागी या समर्थन गर्न सम्भव भएको छ । सीमित पुँजीपति वर्ग त भूमण्डलीकृत स्वरुपमा जान सके भने आम विस्थापित सर्वहारा वर्ग आफुलाई भूमण्डलीकृत स्वरुपमा लैजान सक्दा सामुन्नेको क्रान्तिलाई कसले छेक्न वा रोक्न सक्ने ? यसकारण मार्क्सवादले परिकल्पना गरेको विश्व साम्यवादको प्रारम्भिक भूमण्डलीकृत स्वरुप पनि विज्ञान प्रविधिले सम्भव तुल्याएको छ र त मार्क्सवाद बल्ल वयस्क बन्दैछ ।

अतिरिक्त मूल्यको सिद्धान्तको सिर्जनात्मक बुझाइ

पुँजीवादको नकाव त्यतिबेला उक्रियो जतिबेला मार्क्सवादले सर्वहारा वर्ग (मानव श्रम अथवा श्रम शत्ति)मा रहेको अतिरिक्त मूल्यलाई पुँजीपतिवर्गले अतिरिक्त आर्जन गर्छ भन्ने तथ्यको पर्दाफास गर्‍यो । नत्र त काम अनुसारको दाम मजदुरले पाएको छ भन्दै पुँजीवाद मजदुरलाई जुकाले जसरी चुसिरहन्थ्यो ।

उत्पादन प्रणालीमा मानव श्रम अथवा श्रमशक्तिको उल्लेख्य झूमिका रहँदासम्म अतिरिक्त मुल्य श्रमशत्तिमा निहित हुने भयो । दास युग, सामन्तवाद र पुँजीवादसम्म पनि उत्पादन प्रणालीमा मानव श्रमको भूमिका पर्याप्त थियो । तर, उत्पादन प्रणालीमा अथवा उत्पादक शक्तिमा मानव श्रमको विस्थापन र विज्ञान प्रविधिको वर्चश्वपछि अब अतिरिक्त मूल्यको सिद्धान्तको ताला कुन साँचोले खोल्ने ? जडसुत्रीय मार्क्सवादी यसैमा अल्झेका छन् । उनीहरू कुनै पनि हालतमा जडसुक्रीय तरिकाले अतिरित्त मूल्य पृथ्वी र मानवजाति रहिरहेसम्म मजदुर वर्गमै अन्तरनिहित गराउने दुष्प्रयत्न गरिरहेका छन् । त्यसो हो भने त आदिम साम्यवादी युगमा अतिरिक्त मूल्यको सिद्धान्तलाई कसरी प्रयोग या व्याख्या गर्ने जहाँ मानव श्रम नै थिएन । कि प्रकृतिले नै मानव श्रमबाट अतिरिक्त मूल्यको शोषण गरेको छ भनेर भन्नुपर्ने हुन्छ ।

मार्क्सवाद धर्मशास्त्र होइन, विज्ञान हो । मार्क्सवादले त उत्पादक शक्तिमा मानव श्रमको यथोचित भूमिका भएका युगमा अतिरिक्त मूल्य मानवश्रमबाट शोषण गरियो भनेको हो । उत्पादक शक्तिमा मानव श्रमको भूमिका निस्प्रभावी हुने युगमा पनि मानवश्रमकै अतिरिक्त मूल्यको शोषण हुन्छ भनेको होइन । यसकारण जसरी प्रकृति मुख्य उत्पादक शक्ति भएको प्राकृतिक वा साम्यवादी युगमा अतिरिक्त मूल्य प्रकृतिमा अन्तरनिहित हुन्थ्यो । ठीक त्यस्तै मानव श्रम, पुँजी र जमिन विस्थापित भएर विज्ञान प्रविधि मुख्य उत्फादक शक्तिको युगमा अतिरित्त मूल्य विज्ञान प्रविधिमा अन्तरनिहित हुन पुग्दछ ।

अतिरिक्त मूल्यको सिद्धान्तको यो गाँठो विज्ञान प्रविधि मुख्य उत्पादक शक्ति भएको समयमा फुकाएर मात्र हामी मार्क्सवादको यौवनावस्थामा प्रवेशलाई बुझ्न सक्छौँ । नत्र त या त जडता या त अन्यौलताको बाटोमा जानुको विकल्प छैन । यसकारण मानवजातिले हजारौँ वर्षसम्म गरेको सङ्घर्षको प्रतिफलस्वरुप हामीलाई प्राप्त भएको विज्ञान प्रविधिलाई मानवजातिको हितमा पूर्ण प्रयोग गर्न हामी अब चुक्नु हुन्न ।

सामुदायिक स्वामित्व र सामुदायिक नेतृत्व

समाजवाद भनेको नै वास्तवमा समुदायवाद हो । अर्थात्, उत्पादन प्रणालीमा समुदायको निर्णायक सहभागिता र उत्पादित वस्तु तथा सेवामा समुदायको स्वामित्व । निजी स्वामित्वको युग सुरु भएदेखि नै व्यक्ति, परिवार र राज्यले आनो सम्पूर्ण उत्पादन प्रणालीको स्वामित्व लिँदै आयो । अझ पुँजीवादमा त निजी स्वामित्वका आयाम विस्तारित भएर व्यक्ति, परिवार, कम्पनी, बहुराष्ट्रिय कम्पनी र राज्यले पनि स्वामित्व लियो । हिजोको समाजवादमा पनि निजीकरणको अन्त्यको नारा त जोडदार ढङ्गले उठ्यो । तर निजी स्वामित्वको अन्त्य भनेर राष्ट्रियकरण गर्ने काम तीव्र भयो । आखिर निजीकरणकै उच्चरुप जस्तो त थियो, राष्ट्रियकरण पनि । किनभने राष्ट्रियकरण हुँदा पनि निश्चय राज्य सञ्चालकले नै सिङ्गो राज्यको अर्थ र उत्पादन प्रणालीमा हालिमुहाली गर्ने अथवा निर्णय गर्ने अधिकार रहने भयो । यसले गर्दा समुदायले आफ्नो स्वामित्वको अनुभूति गर्नै पाएनन् । ठिक त्यस्तै नेतृत्व प्रणाली पनि महान् नेता जन्माउने अथवा दास युगदेखि पुँजीवादसम्म अवलम्बन गर्दै आएको केन्द्रीकृत या पिरामिड नेतृत्व प्रणाली नै रहन पुग्यो । समुदायले आनो निर्णायक सहभागिताको ग्यारेन्टी नै पाउन सकेनन् ।

यसकारण अब पुँजी जस्तो बैङ्क, लकर र दराजमा, जमिनजस्तो तारबार र पर्खालमा, मेसिन जस्तो चार दिबारमा या श्रमशक्ति जस्तो निजत्वको गुण भएको उत्पादक शक्ति विज्ञान प्रविधि हैन । विज्ञान प्रविधि आफैँमा पनि सामुदायिक हुनसक्ने गुण अन्तर्निहित भएर आएको छ । अहिले भूमण्डलीकृत पुँजीवादले त विज्ञान प्रविधिलाई कपीराइट र पाइरेसीको नाममा जबर्जस्त निजी बनाउन कोसिस गरिरहेको छ । विज्ञान प्रविधि आफैँमा निजी हुन सक्ने चिज नै होइन । यो त लाखौँले पुस्तौँ सङ्घर्ष गरेर मानवजाती आफैँले आर्जन गरेको ज्ञान, सीप, कला र उत्पादन प्रणालीको आधुनिक र उच्चतम रुप हो । प्रकृति जस्तै सबै मानव समुदायको हक लाग्ने चिज हो ।

त्यसैले, सामुदायिक स्वामित्व र सामुदायिक नेतृत्वको वैज्ञानिक समाजवादको खास अन्तर्वस्तुको सम्भावना सुनिश्चित हुने भएकोले पनि मार्क्सवाद बल्ल तन्नेरी बन्दैछ ।

मानव चेतनाको भौतिक तत्त्व अनुभव हो । समाज या सामाजिक व्यवस्थाको भौतिक तत्त्व उत्पादक शक्ति । मानव श्रमविहीन आदिम साम्यवादी समाज वर्गविहीन शोषणरहित थियो । ठिक त्यस्तै फेरि अर्को मानवश्रमविहीन वैज्ञानिक समाजवादमा मुख्य उत्पादक शक्ति विज्ञान प्रविधि बनेर आएको छ ।

हामीले मानव समाजको विकासमा तीनवटा विशेषताका तीन युग भोग्दैछौँ ।

एक, (क) आदिम वर्गविहीन जङ्गली र बर्बर समाज, (ख) वर्गीय दास, सामन्तवादी र पुँजीवादी समाज र (ग) वैज्ञानिक वर्गविहीन समाजवादी र साम्यवादी समाज ।

दुई, (क) प्राकृतिक आदिम युग, (ख) मानवीय दास, सामन्ती र पुँजीवादी युग र (ग) वैज्ञानिक समाजवादी र साम्यवादी युग ।

तीन, (क) मानव श्रमविहीन आदिम साम्यवादी युग, (ख) मानव श्रमयुक्त दास, सामन्त र पुँजीवादी युग र हिजोको समाजवादी युग (ग) मानव श्रमविहीन अबको विज्ञान प्रविधिको युग अर्थात् वैज्ञानिक समाजवाद र साम्यवादको युग । तीन, (क) मानव श्रमविहीन आदिम साम्यवादी युग, (ख) मानव श्रमयुक्त दास, सामन्ती, पुँजीवादी युग र हिजोको समाजवादी युग र (ग) मानव श्रमविहीन विज्ञान प्रविधिको युग अर्थात् वैज्ञानिक समाजवादी र साम्यवादी युग ।

आउनुहोस्, टिनएजर मार्क्सवादको दार्शनिकी र वैचारिकीमा हाम्रो युगको वैज्ञानिक समाजवाद र समाजवादतिर लम्कौँ !

सम्वन्धित समाचार :